बिहिबार, चैत्र १५, २०८०

बोलेर मात्र कृषि उत्पादन दोव्वर हुँदैन


सतिशकुमार सिंह
प्रमुख
तिलाठी कौइलाडी गाउँपालिका, सप्तरी

० सिंहदरबार गाउँसम्म पुग्यो भन्ने कुरा निकै चर्चामा छ तिलाठी कौइलाठी गाउँपालिकामा सिंहदरबार पुग्यो ?
नेपाल सरकारले सिंहदरबार गाउँ गाउँमा भनेको छ । म निर्वाचित भएको करीव डेढवर्ष पुग्न लाग्यो तर सिंहदरबार गाउँमा पुगेको महसुस गरेको छैन । नारामा सिंहदरबार गाउँमा नै छ व्यवहारमा सिंहदरकार केन्द्रमै छ । अधिकार स्थानीय तहमा दिइयो भनेर जनतालाई झुक्याउने काम भईरहेको छ । काम जति भईरहेको छन् सवै केन्द्र मै सिमित छ ।
० तर अधिकार सवै स्थानीय तहमा नै गईसकेको छ भनिन्छ नि त ?
भन्न त भनिन्छ । भनेर मात्र भएन वास्तविक रुपमा स्थानीय तहमा अधिकार दिइएको छ कि छैन भन्ने कुरा केन्द्रमा बस्नेले बुझ्नु प¥यो । कागजमा दिएर हुन्छ ? व्यवहार दिएको खै । हामी स्थानीय सरकार चलाईरहेका छौं । अधिकार विहिन भएका कारण सिंहदरबार वा भनौं संघ सरकारसँग माग गरिरहेका छौं । सिंहदरबारमा रहेको संघ सरकारले प्रदेशमा सवै गईसक्यो भन्छ । फेरि प्रदेशमा पुग्छौं स्थानीयमा छ भन्छ । हामी स्थानीय सरकारलाई केही पनि थाहा छैन भने कसरी अधिकार दिइयो ।
० जिल्लामा रहेको कृषि कार्यालयहरु स्थानीय तहमा गाभिईसकेको अवस्था छ । विशेष गरी कृषि, पशु सेवा तर्फका कार्यालयहरु पनि स्थानीय तहमा गईसकेको भनिन्छ के छ कृषि क्षेत्रको अवस्था ?
गाभिएका कार्यालयहरु स्थानीय तहमा रहने त भनियो । तर, स्थानीय तहमा गाभिएका कार्यालय ती कार्यालयमा रहेको कर्मचारी गए कि गएनन् ? कर्मचारी आवश्यकता अनुरुप पठाइयो कि पठाइएन भन्ने कुरा महत्वपूर्ण छ । अव तपाईले भन्नु भो कृषि तथा पशु सेवा तर्फका कार्यालयहरु स्थानीय तहमा गईसकेको भन्ने कुरा त्यो पनि कागजमा मात्र सिमित भो । जसले गर्दा तपाई आफैले हेर्न सक्नु हुनेछ कृषि क्षेत्र झन् झन् जटिल बन्दै गईरहेको छ ।
० सरकारले पाँच वर्षमा कृषि उत्पादन दोव्वर बनाउने भनिरहेका बेला कृषि उत्पादनका लागि महत्वपूर्ण क्षेत्र हो नि होइन सप्तरी ?
धान खेतीका लागि सप्तरी महत्वपूर्ण क्षेत्र हो । तर संघ सरकारले कसरी हेरिरहेको छ भन्ने कुराले प्राथमिकता पाउँछ । हामी हिजोको परम्परागत खेतीबाट केही व्यवसायिक खेती गरौं भन्नेमा पनि छौ तर संरचना छैन विज्ञहरु पठाइएको छैन । कर्मचारी हचुवाको भरमा पठाएको छ । यो अवस्थामा कसरी कृषि उत्पादन दोव्वर हुन्छ । मुखले बोलेर मात्र दोव्वर हुँदैन काम गर्न पर्दछ किसानलाई प्रोत्साहित गर्नु पर्दछ । सरकारले त्यसो गरेको छैन ।
० गाउँपालिकालाई दिएको बजेट कृषिमा खर्च नगरेर अन्यत्र खर्च गरियो भन्ने चर्चा बेला बेला हुन्छ नि त ?
अरुले के गरे भन्दा पनि हाम्रो गाउँपालिकामा त्यसो भएको छैन । हामीले जुन जुन शीर्षकमा रकम पठाएको छ । त्यही विषयमा नै खर्च गरेका छौं । तर कृषि तथा पशु सेवामा पठाइएको रकम अत्यन्तै न्यून छ । दुइचार पकेट बीउ बाँड्ने वा ट्रयाक्टर बाँडेर हुँदैन । किसानहरुलाई आधुनिक सीप सिकाउनु पर्दछ । दक्ष जनशक्ति बनाउने तर्फ हामी लागि परेका छौं । हामीसँग दक्ष जनशक्ति नभएका कारण नै हामीले महत्वपूर्ण खेती योग्य जमीन भएर पनि आयात गर्नु पर्ने अवस्था आएको छ ।
० किसानहरुले खेती गर्न रासायनिक मल सहज नै पाएका छन् त ?
अत्यन्तै गाह्रो छ । जव खेतीको मौसम हुन्छ रासायनिक मल अभाव बढ्दै जान्छ । पहिले जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा सहकारीहरुले मल वितरण गर्ने गर्दथे । त्यसमा पनि पारदर्शित छैन भन्ने आवाज नउठेको भने होइन । तर अहिले पनि किसानहरुले मल सहज रुपमा पाएका छैनन् । मल वितरण हाम्रो क्षेत्राधिकार भित्र छैन । कम्तिमा सरकारले कृषि उत्पादन बृद्धि गर्ने हो भने किसानहरुलाई मल वीउ सहज बनाउने काम गर्नु पर्दछ ।
० के गर्ने त त्यसो भए ?
कृषि प्रधान देश भनेर हामीले भनिरहेका छौं । विगतदेखिको अवस्था हेर्ने हो भने कृषि उत्पादन बृद्धि हुनु पर्ने ठाउँमा हाम्रा जनशक्ति रोजगारीका लागि विदेश पलायन भईरहेका छन् । सरकार रेमिट्यान्स मै दङ्ग परिरहेको देखिन्छ । हामीले मुलुकलाई कृषिबाट नै समृद्ध बनाउन सक्छौं । कृषिमा आधुनिकीरण गर्ने, यान्त्रिकीकरण गर्न सक्ने हो भने र किसानले खोजेका कुरा सहज रुपमा उपलब्ध गराउने हो भने कृषिबाटै हामीले मुलुकलाई बलियो बनाउन सक्छौ्र । त्यसका लागि हामीले काम गरिरहेका छौं ।
० के योजना बनाउनु भएको छ त ?
हामी जनप्रतिनिधि भएर आएदेखि नै हामीले किसान लक्षित कार्यक्रमहरु गर्दै आईरहेका छौं । गाउँपालिका भित्र रहेका जनशक्तिहरुलाई प्राविधिक दक्षता अभिबृद्धि गर्ने काममा हामी लागिरहेका छौं । विदेश पलायन भएका व्यक्तिहरुलाई विदेश पठाउन नै हुन्न भन्ने होइन । विदेश पठाउनु पर्दछ तर दक्ष जनशक्ति पठाउनु पर्दछ । एउटा राम्रो र दक्ष जनशक्ति पठाउँदा अहिलेको भन्दा तेव्वर रेमिट्यान्स एउटै पठाउँछ भन्ने कुरामा हामी ढुक्क छौं । त्यसका लागि युवाहरुलाई प्राविधिक रुपमा दक्ष जनशक्तिका रुपमा विकास गर्नु पर्दछ भन्नेमा हामी लागि रहेका छौं ।
० तपाईको गाउँपालिकालाई कृषिबाट परिवर्तन गराउने प्रयासमा हुनुहुन्छ त्यसो भए ?
हो, हामी विगतका कृषि प्रणालीलाई परिवर्तन गराउने अभियानमा छौं । अर्गानिक उत्पादनमा हामीले जोड दिएकाछौं । विषादी प्रयोय न्यूनिकरण गर्नका लागि किसानहरुलाई जागरुक बनाईरहेका छौं । कृषि क्षेत्रमा प्रोत्साहन गर्न विभिन्न किसिमका कार्यक्रमहरु हामीले गर्दै आईरहेका छौं । मेरो कार्याकालसम्म मेरो गाउँपालिकका किसानहरुले आफूलाई चाहिने अत्यावश्यक बस्तुहरु सहज रुपमा पाउन सक्ने अवस्थाको सृजना मैले गर्ने छु । -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, अशोज २१, २०७५