बिहिबार, बैशाख १३, २०८१

उत्पादन बृद्धि गर्नका लागि लिफ्ट सिँचाइ

म्याग्दी, भाद्र । स्थानीय तहले आफ्नो अधिकारलाई कार्यान्वयनमा ल्याउनका लागि जनताका आवश्यकतामा आधारित योजना सार्वजनिक गर्न थालेका छ । यसै क्रममा बेनी नगरपालिकाले वडा नं. ४ सिङ्गामा लिफ्ट प्रविधिको सिँचाइ आयोजना निर्माण गर्ने योजना अघि सारेको छ । बस्ती तलको म्याग्दी नदीमा बगेर खेर गइरहेको पानी तानेर खेतीयोग्य जमीनमा सिँचाई गरी खाद्यबाली, तरकारी र फलफूल उत्पादन वृद्धि गर्ने योजना नगरपालिकाले ल्याएको छ ।
सिँचाइको अभावमा खेतीयोग्य जमीन बाँझो बस्ने समस्या न्यूनीकरण गरी रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउन लिफ्ट प्रविधिको सिँचाइ आयोजना अघि सारिएको वडाध्यक्ष गोविन्द्रप्रसाद पौडेलले बताए । उनले चालु आर्थिक वर्ष २०७५÷७६ मा सिङ्गामा लिफ्ट सिँचाइ आयोजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको जानकारी दिए ।
पाँचवटा लिफ्ट प्रविधिको सिँचाइ योजना निर्माण गर्न नगरपालिकाले रु ३२ लाख विनियोजन गरिएको छ । सुर्केमेलालाई रु १० लाख, सिङ्गा कुना ताललाई रु नौ लाख, ठूलोखोलामा गतवर्ष शुरु भएको योजनालाई सम्पन्न गर्न रु तीन लाख र बास्कुनाको अधूरो सिँचाइ टङ्कीलाई पूर्णता दिन रु पाँच लाख विनियोजन गरेको वडाध्यक्ष पौडेलले बताए ।
सिंचाईका लागि सर्वेक्षण गरी उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन गरिने समेत पौडेले बताए । विद्युतीय उपकरणको प्रयोग गरेर म्याग्दी नदीको पानीलाई तानेर खेतमा बाह्ै महिना सिँचाइ सुविधा उपलब्ध गराउने जनाइएको छ । सिङ्गा खाद्यबाली, तरकारी र फलफूलखेतीका हिसाबले सम्भावना बोकेको ठाउँ हो ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०७५