शुक्रबार, चैत्र १६, २०८०

होला त तरकारीमा सिन्डिकेट र बिचौलियाको अन्त्य ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिचौलिया व्यापारीको सिन्डिकेट हटाउन अहिले दुई मन्त्रालयको सक्रियता देखिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले तरकारी र फलफूलको व्यापारमा देखिएका बिचौलिया निर्मूल पार्ने भन्दै लागिपरेका छन् । कृषिमन्त्री खनालले गत जेठमा कालीमाटी बजारको अनुगमन गर्नुभएको थियो भने उद्योगमन्त्री यादव सोमबार कालीमाटीमा व्यवसायीहरुले सरकारी अनुगमन टोलीलाई अवरोध गरेपछि स्थलगत निरीक्षण गर्न पहिलोपटक त्यहाँ जानुभएको हो ।

कृषि मन्त्रालयले कालीमाटीमा एक वर्षयता गरेको अध्ययनका आधारमा त्यहाँभित्रको ‘दुर्गन्धित बिचौलिया’ लाई कारबाही गर्ने गरी आन्तरिक अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानले उत्पादन गरेको ठाउँदेखि कालीमाटीसम्म आइपुग्दा कति ठाउँमा बिचौलिया लाग्छन् र कति मूल्य बढाइन्छ भनेर अध्ययन अनुगमन गरिरहेको छ ।

उद्योग मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागले उपत्यकाबाहिरका केही जिल्लामा गई किसानले पाउने मूल्य, मुूल्य बढाउने बिचौलिया व्यापारीका विभिन्न तहको अनुसन्धान गरिरहेको छ । सोही अनुसन्धानलाई थप पुष्टि गर्न हिजो सोमबार विभागले कालीमाटी बजारमा अनुगमन गरेको हो ।

कालीमाटी बजार सञ्चालक समितिका अध्यक्ष तथा कृषि मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीका अनुसार कालीमाटीभित्रका ९८ वटा व्यापारीलाई कारबाही गर्ने गरी मन्त्रालयले प्रतिवेदन तयार पारेको छ । तर उक्त प्रतिवेदन व्यापारीकै दवाबका कारण सञ्चालक समितिबाट पारित हुन भने सकेको छैन ।

‘हामीले एक वर्षअघि तयार पारेको प्रतिवेदन समितिबाट पारित हुन नसकेपछि मन्त्रालय पठायौं । दोस्रो प्रतिवेदन पनि दुईपटक सञ्चालक समितिमा छलफलका लागि पठाइसकेका छौं । तर पारित भने हुन सकेको छैन’ –कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले भन्नुभयो ।

समितिले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार कालीमाटीमा बिचौलिया व्यापारीले एउटै स्टलबाट २ लाख रुपियाँसम्म अतिरिक्त भाडा असुल्ने गरेको छन् भने एउटा स्टलमा ३ वटासम्म पसल सञ्चालन भइरहेका छन् ।

व्यापारीहरुले बजार र स्टल कब्जा गरी एउटा स्टलको क्षेत्रफल हेरी ८ देखि १० हजार रुपियाँ मात्र भाडाबापत समितिलाई बुझाउने र २ लाख आफै कुम्ल्याउने गरेका छन् । बिचौलियाको धन्दा चलाइरहेका व्यापारीले बजारभित्रका स्टल आफूले कब्जा गर्ने र महँगो दरमा अर्कैलाई भाडामा दिई ठगी धन्दा चलाउने गरेका छन् ।

थोक व्यापारीले ९० वर्गफिट र खुद्रा व्यापारीले ४० वर्गफिटका दरले स्थान पाए पनि एउटै स्टलमा ३ वटासम्म पसल सञ्चालन भइरहेका छन् । कालिमाटी बजारमा ३ सय ५० भन्दा बढी थोक व्यापारी र ७१ जना खुद्रा व्यापारी रहेको समितिको तथ्यांकमा उल्लेख छ ।

दुवै जना मन्त्री र मन्त्रालयले अहिलेको अवस्थालाई धेरै दिन टिक्न नदिने भन्दै सार्वजनिक रुपमा धारणा राखे पनि त्यसको कार्यान्वयनमा भने फितलो देखिएको छ । कषिमन्त्री खनालले गत जेठमा अनुगमन गरेपछि दोस्रोपटक सो विषयमा कुनै चासो देखाउन सक्नुभएको छैन ।

पक्राउ गरेको सामान लिलामी
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार बजार अनुगमनका क्रममा नियन्त्रणमा लिएको फर्सी र काँक्रो मंगलबार लिलामी गरेको छ । सम्बन्धित सामान धनीले आफ्नो सामानको बिलबिजक देखाउन नसकेपछि लिलाम गरिएको विभागका अधिकृत दीपकराज पोखरेलले बताउनुभयो ।

पोखरेलका अनुसार बा५च ९६४ नम्बरको गाडीबाट जफत गरिएको तीन क्विन्टल बराबर काँक्रो कृषक सहकारीमार्फत् संकलन गरेर ल्याईएको र ना४च ६६३४ र नम्बरको टाटा मोबाइलमा ल्याईएका साढे १५ क्विन्टलबराबर फर्सीको बारा जिल्ला निजगढ नगरपालिका–१३ डम्बरपुरका सुख दोर्जे गोलेले दाबी गरेपछि विभागले टोलीले गोलेलाई सम्बन्धित नगरपालिकाबाट आफू कृषक भएको प्रमाणित गरेर ल्याउन भनेको छ ।

विभागले २ क्विन्टल काँक्रो प्रतिकिलो २५ रुपियाँका दरले बेचेको छ भने १ क्विन्टल काँक्रो नष्ट गरेको छ । त्यसै गरी १५ क्विन्टल फर्सी प्रतिकिलो १५ रुपियाँदेखि २५ रुपियाँका दरले बिक्री गरेको छ । यदि गोलेले आफै कृषक भएको प्रमाण ल्याएको खण्डमा फर्सी बिक्रीबाट उठेको रकम सम्बन्धित किसानलाई नै फिर्ता गरिने पोखरेलको भनाइ छ ।

सोमबार अनुगमनका क्रममा सरकारी टोलीलाई अवरोध गर्ने २ जना व्यवसायीलाई भने थप कारबाहीका लागि अदालती प्रक्रियामा लगिएको पोखरेलको भनाइ छ ।

तरकारी कम भित्रिएपछि मूल्यमा अस्वाभाविक वृद्धि
दैनिक ६ देखि ७ सय मेट्रिकटन तरकारी तथा फलफूल कालीमाटी बजारमा भित्रिने गरेकोमा मंगलबार १ सय मेट्रिक टन मात्रै भित्रिएको निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभएको छ । आपूर्ति विभागले सोमबार अनुगमन गरेपछि मंगलबार निकै कम मात्र व्यापारीहरु सामान लिएर कालीमाटी आएको पौडेलको भनाइ छ ।

बजारमा निकै कममात्र तरकारी भित्रिएपछि त्यसको प्रत्यक्ष मार भने उपभोक्तामा परेको छ । सोमबारको तुलनामा मंगलबार मात्र तरकारीको खुद्रा मूल्यमा ५० प्रतिशतसम्म वृद्धि देखिएको छ । विभागले अनुगमन गरेको अघिल्लो दिन अर्थात् आइतबार ४५ रुपियाँ प्रतिकिलो रहेको गोलभेडाको खुद्रा मूल्य मंगलबार बढेर ७० रुपियाँसम्म पुगेको छ । त्यसै गरी आलु, प्याज, फर्सी, बोडी, काउली, हरियो साग, हरियो धनियाँमा मूल्य वृद्धिको असर देखिएको छ । -हेमन्त जोशी

प्रकाशित मिति: बुधबार, भदौ ६, २०७५