शुक्रबार, बैशाख ७, २०८१

कृषि बस्तु निर्यात गर्ने विषयमा नेपाल–भारत संयुक्त बैठक

काठमाडौँ, भाद्र । काम होला या नहोला तर नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास, प्राङ्गारिक कृषि प्रवद्र्धन, रासायनिक मलको आयात तथा ढुवानीका विषयमा छलफल भएको छ ।
काठमाडौँमा सम्पन्न भएको समूहको सातौं बैठकमा खाद्य परीक्षण प्रयोगशालाको प्रमाणपत्रको आपसी मान्यता, क्वारेन्टाइन नाकाको विस्तार र पशुपक्षी विकासका लागि परियोजना सञ्चालन गर्ने विषयमा छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाइएको छ ।
मन्त्रालयको प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार नेपालबाट भारततर्फ कृषि वस्तु निर्यात गर्न नेपाल भारत सिमामा पर्ने जनकपुरको भिट्टामोड र धनगढीको गौरीफाँटमा क्वारेन्टाइन पोष्ट स्थापना कार्य शुरु भएको भारत पक्षले जानकारी गराइएको छ ।
त्यस्तै बैठकमा नेपालमा प्राङ्गारिक कृषिखेती प्रवद्र्धको लागि भारतको तर्फबाट सहयोग गर्न तयार पारिएको विस्तृत खाकामा नेपालका तर्फबाट पेश भएका सुझाव समेटेर भारतीय पक्षबाट अन्तिमरुप प्रदान गरी नेपाली पक्षलाई उपलब्ध गराउने समेत उल्लेख गरिएको छ ।
बैठकमा कृषि क्षेत्रको थप विकासमा द्विपक्षीय सहयोग र समन्वयलाई जोड दिइएको थियो भने नेपाल तथा भारतका प्रधानमन्त्रीको राजकीय भ्रमणमा भएका कृषिसँग सम्बन्धित सम्झौता र हस्ताक्षरको विषयमा अवगत गराइएको प्रवक्ता सुवेदीले बताए ।
बैठकको नेतृत्व नेपालबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा योगेन्द्रकुमार कार्की र भारतका तर्फबाट कृषि एवं किसान कल्याण मन्त्रालयका सहसचिव निराजा अदिदमले गरेको समेत सुवेदीले जानकारी दिए । ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०७५