शुक्रबार, चैत्र १६, २०८०

बजार नपाउँदा सहकारी खेती संकटमा

मोरङ्ग, भाद्र । कृषि उत्पादन बृद्धि र लागत मूल्य घटाउनका लागि खेती योग्य जमीनलाई चक्लावन्दी गरी खेती गरिनु पर्ने चर्चा विगतदेखि नै हुँदै आएका छन् । तर जग्गा चक्लावन्दी गरेर खेती गरेपनि कृषि उपजले बजार नपाएपछि किसान र कृषि सहकारी संस्थाहरु डुव्ने डर बढ्न थालेको छ ।
सरकारले सामूहिक कृषि खेतीको अवधारण विगतका वर्षहरुमा नै ल्याएको हो । तर त्यसले सार्थकता नपाउँदै गर्दा देशकै एक मात्र नमुना मानिएको महारानी झोडामा रहेको एकीकृत नमुना सहकारी खेती अहिले समस्यामा परेको छ ।
सहकारी संस्थाले एकीकृत नमूना सहकारी खेती गरेको थियो । किसानहरु खेती गर्न छाडेपछि सहकारीले नै २० विघा जमीनमा मकै उत्पादन गरेको थियो । तर उत्पादन भएको मकै विक्री नभएपछि गोदाममा नै कुहिन थालेको छ ।
सो सहकारीले उत्पादन गरेको करीव १४ लाख बराबरको मकै कुहिने अवस्थामा पुगेको सहकारीले जनाएको छ । सहकारीका अनुसार यस वर्ष दुई हजार मन मकै उत्पादन भएको र विक्री नभएका कारण सहकारी नै समस्यामा परेको जनाइएको छ ।
सहकारीले दिएको जानकारी अनुसार एक विघामा मकै रोपेर थन्क्याउञ्जेलसम्म ४५ हजार खर्च हुने देखिन्छ । यही हिसवाले पनि २० विघामा मकै उत्पादन गर्नका लागि करीव ९ लाख खर्च भएको देखिन्छ । ९ लाख खर्च गरेर उत्पादन गरिएको मकै नविक्दा सहकारीका सञ्चालक अन्योलमा परेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०७५