शुक्रबार, चैत्र १६, २०८०

गाउँपालिकालाई आत्मनिर्भर बनाउन कृषिमा अनुदान

वैतडी, भाद्र । स्थानीय तहमा पठाइएको कृषिको बजेट अन्य क्षेत्रमा दुरुपयोग भयो भन्ने चर्चा चलिरहेका बेला वैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकाले भने हरेक वर्ष सय जनालाई रोजगारी सिर्जना गर्ने गरी कृषि योजना ल्याएको छ ।
गाउँपालिकाले आफ्नो पालिका भित्रका युवाहरुलाई बाख्रापलान गर्न एक लाख र तरकारी खेती गर्नका लागि ६० हजार, कुखुरा पालन गर्नेलाई ८० हजार मौरी पालन गर्नेलाई ८० हजारका दरले अनुदान उपलब्ध गराएको जनाएको छ ।
निर्वाचत पछिको एकवर्षभित्रमा १ सय २ जना युवाहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्नका लागि अनुदान उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दका अनुसार युवाहरुलाई गाउँमै रोजगारीका लागि तरकारी खेती तथा पशुपालन गर्न सहज गराउनका लागि अनुदान उपलब्ध गराएको बताएका छन् । उनले तरकारी, दूध, अण्डामा गाउँपालिकालाई आत्मनिर्भर बनाउनका लागि अनुदान उपलब्ध गराएर युवाहरुलाई कृषिमा आकर्षण गर्ने योजना ल्याएको समेत बताए ।
हुन पनि वैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकाका युवाहरु रोगजारीका लागि गाउँ छाडेर विदेश होमिनेहरुको संख्या दिन प्रतिदिन बढ्दैगईरहेको छ । गाउँमा भएको श्रम शक्तिलाई गाउँमा नै उपयोग गर्न सके गाउँपालिकाको विकास र आत्मनिर्भरताका लागि निकै नै सहज हुने अध्यक्ष चन्दले बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०७५