शुक्रबार, चैत्र १६, २०८०

किसान सञ्जालले दियो आन्दोलन गर्ने चेतावनी

काठमाडौं, साउन । व्यवसायिक रुपमा तरकारी उत्पादनमा लागेका किसानहरुले बजारीकरणको अभाव र लागत मूल्य नपाएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल कृषि उत्पादन तथा बजारिकरण सञ्जालले किसानहरुका २१ सुत्रिय माग राखेर कृषि विकास मन्त्रालयमा आफ्ना माग पत्र बुझाउँदै सो चेतावनी दिएको हो ।
यस अघि सञ्जालले गोलभेंडा लगायतका हरियो तरकारीको मूल्य २ रुपयाँ पनि नपाएपछि राहत तथा क्षतिपुर्ति माग गर्दै किसान आयोग पुगेर आफ्ना माग सहितको ज्ञापन पत्र बुझाएको थियो । सञ्जालका संयोजक रमेश पण्डित तुफानको संयोजकत्वमा गएको किसान टोलीले कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल, सचिव डा. युवकध्वज जीसीलाई भेट गरी किसानहरुका तत्कालिन माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
किसानहरुको माग सहितको ज्ञापन पत्र बुझ्दै कृषि मन्त्री खनालले किसानहरुले उत्पादन गरेको कृषि उपजको बजारीकरणका लागि नेपालमा उत्पादन भएका थप ६ वटा कृषि उपज भारत निकासीका लागि क्यारेन्टाईनमा सूचिकृत गर्न पत्राचार गरिसकेको बताएका छन् । उनले परराष्ट्र मन्त्रालय मार्फत गोलभेंडा लगायतका कृषि उपज निकासीका लागि पहल गरिएको जानकारी दिए ।
कृषि सचिव डा. युवकध्वज जीसी भन्छन्, ‘हामी किसानहरुका हरेक समस्या समाधानका लागि क्रियाशील भएर लागिरहेका छौं, किसानहरुले आफ्नो जायज समस्याहरु मन्त्रालय समक्ष राख्नु प¥यो ।’

प्रकाशित मिति: मङ्लबार, साउन २९, २०७५