के हो भन्ने आफैलाई थाहा छैन
दीपक शर्मा
प्रमुख
जिल्ला कृषि विकास कार्यालय दाङ्ग
कार्यालय स्थानीय तहमा गाभिने सर्कुलर भएको भएपनि कर्मचारीहरुको अवस्था के हुने भन्ने आफैलाई थाहा छैन । नयाँ संरचना अनुरुप स्थानीय तहमा जिल्ला कृषि कार्यालयलाई पनि गाभिएपछि अहिले अन्यौलता छाएको छ । हुन त प्राविधिक रुपाम सहयोग गर्ने काममा हामी लागि नै रहेका छौं तर संगठन संरचना नै अस्तव्यस्त भएका कारण के गर्ने के नगर्ने भन्ने समस्या रहेको छ । शुरुवातको समय भएकाले पनि यस्तो अन्योलता हुनु स्वाभाविक नै हो । केही समय पछि निक्र्यौल त होला । संघ र प्रदेशमा पनि मन्त्रालय भएकाले के गर्ने भन्ने स्पष्ट निर्देशन नआएकाले अहिले संयोजनकारी भूमिकामा छौं । अरु जिम्मेवारी तोकिएको छैन ।
लामो समयसम्म अन्यौलमा राख्नु हुँदैन
श्रीराम घिमिरे
प्रमुख
जिल्ला कृषि विकास कार्यालय, जाजरकोट
जिल्ला कृषि कार्यालय हटेपनि सो ठाउँमा ज्ञान केन्द्र रहेन निर्णय भएको छ । अरु कुनै पनि परिपत्र भएको छैन । विगतमा जिल्लाको प्रमुखको हैसियतमा काम गरेपनि अवको भूमिका के हो भन्ने थाहा छैन । बजेट कसरी सञ्चालन हुने, कसरी आउँछ वा कार्यक्रम कसरी अगाडि बढ्ने भन्ने कुरा पनि जानकारी छैन जसले गर्दा म मात्र होइन सवै जिल्लाका साथीहरु अन्योलमा हुनुहुन्छ । केही समयका लागि अन्यौलतामा छाउने छ त्यसमा अन्यथा लिनु पनि हुँदैन । तर लामो समयसम्म यसलाई राखिरहनु भने हुँदैन । सम्पूर्ण अधिकार स्थानीय तहमा दिएको भएपनि जिल्ला कृषि कार्यालय विस्थापित भए पश्चात बनेको कृषि ज्ञान केन्द्रलाई प्रदेश मातहतमा रहने भन्ने सुन्नमा आएको छ । केही समय पश्चात निकास आउला भन्ने आशा गरौं ।
प्रत्यक्ष मारमा किसानहरु परेका छन्
टपेन्द्र बहादुर शाह
प्रमुख
जिल्ला कृषि विकास कार्यालय, डोटी
जिल्ला कृषि विकास कार्यालय त खारेज भई नै सक्यो । डोटी जिल्लाका हकमा भने ज्ञान केन्द्र पनि नभएकोले थप निराशा बनाएको छ । कृषि क्षेत्रको लामो इतिहास डोटीमा समाप्त नै भएको छ । कृषि क्षेत्रको अस्तित्व समाप्त भएको धेरैले महशुस गरेका पनि छन् । त्यसको प्रत्यक्ष मारमा किसानहरु परेका छन् । कर्मचारीहरुलाई त सरकारले केही न केही व्यवस्था गरिनै हाल्छ । हिजो जुन रुपमा किसानहरुले प्रत्यक्ष रुपमा समस्या समाधान गर्न पाउनु भएको थियो त्यो अव सम्भावना देखिएको छैन । हामीले कार्यालय समेत सुम्पिसकेका छौं तर पनि स्थानीय तहमा जे संरचना बनाएको छ त्यसलाई मार्गदर्शन गर्ने काम बाहेक अरु खासै भूमिका भने छैन । साविकको जिल्ला कार्यालय नभए पनि हामीले स्थानीय तहमा जानु भएका साथीहरुलाई समन्वय गर्ने काम गर्दै आईरहका छौं । डडेल्धुरामा रहेको ज्ञान केन्द्रको सम्पर्क कार्यालयका रुपमा डोटीमा सञ्चालन हुन्छ कि भन्ने झिनो आशा छ ।
प्रत्यक्ष मारमा किसानहरु परेका छन्
यज्ञराज जोशी
प्रमुख
जिल्ला कृषि विकास कार्यालय, कैलाली
माथिल्लो निकायबाट जे भएको छ । त्यो रामै्र कामका लागि भएको होला भन्ने हो तर जिल्ला कृषि विकास कार्यालय पनि नभएको अवस्था र कृषि ज्ञान केन्द्र पनि नभएको अवस्थाल गर्दा विगतका वर्षहरु जस्तै उत्पादकत्व बृद्धि हुने कुरा शंकामा छ । यसले कृषि उत्पाद बृद्धि गर्ने कुरामा समस्या ल्याउँछ । एकातिर उत्पादन घट्ने प्रवल सम्भावना छ । अर्कोतिर सरकारले कृषिको आधुनिकीकरणको कुरा गरेको भएपनि प्रविधि विस्तारमा समस्या आउँछ । जुन रुपमा प्रविधि विस्तार हुनु पर्ने हो त्यो हुन सक्दैन । कृषि क्षेत्रको विकास भाषणमा होइन व्यवहारमा उतार्नु पर्दछ । त्यो अहिले देखिएन । सरकारले ज्ञान केन्द्र स्थापना गर्ने भनिएको छ जुन कञ्चनपुरको सट्टा कैलालीमा रह्यो भने प्रवाकारी हुन्छ । किनभने यस जिल्लामा ४० प्रतिशत भूभाग पहाडी क्षेत्र पनि ओगटेको छ । अर्को समस्या भनेको जनशक्ति अभाव छ । जिल्ला कृषि कार्यालय, सेवा केन्द्र रहँदा नै जनशक्ति अभाव थियो भने अव झन् समस्या हुने देखिन्छ । त्यसकारण कृषिको प्राविधिक जनशक्ति थप गर्दै जाने हो भने कृषिमा केही होला नत्र भन्न सकिँदैन ।
Add Comment