शुक्रबार, चैत्र १६, २०८०

उचित मूल्यको माग गदै तरकारी बजारमा किसानको आन्दोलन

काठमाडौं, साउन । करीव एक महिना वित्यो । कृषि मन्त्री चक्रपाणी खनालले कालीमाटी तरकारी बजारमा विचौलिया अन्त्य गर्छु भन्दै अनुगमन गरेको । तर मन्त्रीले दिएको आश्वासनको एउटा पनि काम हुन सकेको छैन । कालिमाटी तरकारी बजारमा विद्यमान सिण्डिकेट तोड्न आँट सायद मन्त्रीले गर्ने छैनन् ।
विगतदेखि नै सिण्डिकेटको अन्त्य गर्नका लागि तात्कालिन कृषि विकास मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव काशीराज दाहालले प्रयास पनि गरेका थिए, सकेनन् । उनले सिण्डिकेटधारीहरुको लिष्ट तयारी गरिहँदा राजनीतिक रुपमा दवाव आयो र उनी पछि हटे । कालीमाटी तरकारी बजारमा कांग्रेस, नेकपा लगायत अन्य दलसँग सम्वन्धित व्यक्तिहरुले नै रहलपहल गरिरहेका कारण त्यो सिण्डिकेट अन्त्य हुँदैन । अहिले किसानहरुले आफूहरुले उत्पादन गरेको तरकारीको मूल्य नपाएको भन्दै कालिमाटी तरकारी तथा फलफूल विकास समितिमा धर्ना दिए । केही समयको धर्नाले खासै प्रभाव पर्ने पनि देखिंदैन । जवसम्म कृषि मन्त्रीले यस विषयलाई तत्काल कडाइ गर्ने पहल गर्दैनन् तवसम्म केही पनि हुने सम्भावना देखिंदैन ।
कालीमाटी तरकारी तथा फलफूल बजारमा रहेका सिण्डिकेट तोड्नु पर्दछ भन्ने लाईनमा गृह मन्त्री रामबहादुर थापा वादल पनि निरिक्षण गर्न पुगेका थिए । तर कृषि मन्त्री चक्रपाणी खनालले रामबहादुर थापाले आफ्नो कार्य क्षेत्रमा हस्तक्षेप गरेको बताएपछि सो कुरा अहिले गुपचुप मै छ ।
त्यसमाथि पनि कृषि मन्त्री चक्रपाणी खनालले आफू मन्त्री भएर आए लगतै कालीमाटी तरकारी तथा फलफूल विकास समितिको अध्यक्षको जिम्मेवारी मन्त्रालयका काजमा ल्याइएका सहसचिव तेजबहादुर सुवेदीलाई दिएका छन् । विगतमा कृषि विकास मन्त्रालयका प्रशासन महाशाखाका सहसचिवलाई अध्यक्ष तोक्ने व्यवस्था थियो ।
किसानहरु तरकारीको उचित मूल्य नपाएको भन्दै कालीमाटीमा धर्नामा छन् । तर अध्यक्ष तेजबहादुर सुवेदी भने राष्ट्रिय किसान आयोगको विदेश भ्रमणमा रहेका छन् । स्मरण रहोस् कालीमाटी तरकारी बजारमा विचौलियाको पछाडि नलागि वास्तविक किसानहरुले आन्दोलन गर्ने हो भने सिण्डिकेट तोडिने पक्का छ यदि मन्त्रीले आफ्नो अडान र स्वाभिमान गुमाएनन् भने ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०७५