बिहिबार, बैशाख ६, २०८१

कृषि क्षेत्र ध्वस्त बनाउँदै संघीय प्रशासनतन्त्र

काठमाडौं, साउन । मुलुकको प्रशासन यतिखेर संघीय संरचना अनुरुप निर्माण गरिएको प्रशासनिक संगठन संरचनालाई व्यवस्थापन गर्ने काममा जुटिरहेको देखिन्छ । गत श्रावण १ गतेदेखि संघीय संरचना अनुरुप प्रदेश र स्थानीय सरकारका लागि आवश्यक जनशक्ति मिलानमा जुटिरहेको छ ।
यही जुटाईमा प्राविधिक जनशक्तिलाई प्रशासनतन्त्रले ध्वस्त बनाउँदै छ । विशेष गरी कृषि, पशुपन्छीका सेवा तर्फका जनशक्तिलाई हतोत्साह गर्ने किसिमले संरचना बनिरहेको छ । हुन त यसमा प्रशासनतर्फका उच्च कर्मचारीहरुलाई दोष लगाउने काम प्राविधिक कर्मचारीहरुले गरेको देखिन्छ ।
प्रशासन सेवा जस्तै प्राविधिक सेवा तर्फ पनि विशिष्टश्रेणीका कर्मचारीहरु संगठन संरचनामा लागेको भएपनि प्राविधिक सेवा तर्फका कर्मचारीहरुकै नालायकीपनका कारण संरचना ध्वस्त हुँदै छ । जसरी वन सेवा तर्फका कर्मचारीहरुले आफ्नो कर्मचारी संगठन संरचनालाई हलचल गर्न दिएनन्, त्यो कार्य कृषि वा पशुसेवाका कर्मचारीहरुले गर्न सकेनन् । परिणाम अहिले गाउँपालिकाका वडा कार्यालयसम्म पुगेर किसानहरुलाई सेवा प्रवाह गर्नु पर्ने प्राविधिक तर्फका कृषि एवं पशु सेवामा काम गरिरहेका कर्मचारी अन्यौलमा परेका छन् ।
आषाढ मसान्तसम्म जिल्लामा रहेका कार्यालय र मातहतमा रहेको सेवा केन्द्रहरुको संरचना समेत यतिखेर ध्वस्त छ । निजामती सेवाकै स्थायी कर्मचारी भएर पनि ठाडो हाजिर गर्नु पर्ने वाध्यतामा कर्मचारी रहेका छन् । यो अवस्थाले प्राविधिक कर्मचारीहरुको काम गर्ने र विकासका लागि प्रतिवद्ध हुने मानसिकतामा बृद्धि हुन सक्ला ?
हो यतिखेर कृषि तथा पशु सेवा तर्फका कर्मचारीहरुले दोष प्रशासन तर्फका कर्मचारीहरुलाई दिंदै आईरहेको छन् । तर हिजो संरचना बनिरहँदा किन बोल्न सकेनन् प्रश्न उब्जिएको छ । वन सेवाका जिल्ला स्थित कार्यालय रहने मिल्ने तर मुलुकको आर्थिक मेरुदण्डका रुपमा रहेको, खाद्यान्नमा आत्मनिर्भर बनाउने कृषि तथा पशु सेवाका कार्यालय विस्थापित हुनु पर्ने कारण के थियो ?
संगठन संरचना निर्माण गर्दादेखि वहश हुनु पर्दथ्यो तर त्यसलाई प्राविधिक कर्मचारीहरुले बहशको विषय बनाउन सकेनन् । आ आफ्नो स्वार्थमा झुण्डिएका कारण कृषि क्षेत्र ध्वस्त भएको भने पक्कै हो । अझ प्रशासन तर्फका कर्मचारीहरुले प्राविधिक तर्फका कर्मचारीहरुलाई गर्ने व्यवहारमा समेत फरक देखिन्छ । एउटै तहका व्यक्तिवीचको व्यवहार फरक र प्राविधिक कर्मचारीलाई प्रशासनिक उही तहको कर्मचारीले आफूभन्दा कमजोर र निरिह जस्तो ठान्नुले पनि समस्या बल्झिएको देखिन्छ । कृषि क्षेत्र ध्वस्त हुनुको प्रमुख कारणमध्ये यो पनि एउटा हो । यसमा परिमार्जन गर्नु आवश्यक छ ।

प्रकाशित मिति: सोमवार, साउन ७, २०७५