बिहिबार, चैत्र १५, २०८०

साल्ट ट्रेडिङको मल बिक्री केन्द्र स्थापनापछि किसान उत्साहित

धनगढी, साउन । किसानहरुलाई रासायनिक मल अभाव हुन नदिने साल्ट ट्रेडिङ  कर्पोरेशनले कैलालीको पूर्वी भेगको बौनिया बजारमा सरकारको अनुदानित रासायनिक मलको बिक्री केन्द्र स्थापना गरेगँगै स्थानीय किसान उत्साहित भएका छन् ।
गाउँमा मलको बिक्री केन्द्र स्थापना भएपछि मल खरिद गर्न सदरमुकाम धनगढी धाउनुपर्ने बाध्यता हटेकाले किसान उत्साहित भएका प्रतापपुरको किसान बहुद्देश्यीय सहकारी संस्थाका जयनारायण चौधरीले बताए ।
यसअघिसम्म अनुदानित मल खरिद गर्न सदरमुकाम धनगढी धाउनुपर्दा समय बढी लाग्ने, खर्चिलो र झन्झटिलो हुने गरेको थियो । बौनिया बजारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड क्षेत्रीय कार्यालय धनगढीको पहलमा अनुदानित रासायनिक मलको बिक्री केन्द्र स्थापना गरिएको हो ।
“अनुदानको मल बिक्रीका लागि बौनिया बजारमा बिक्री केन्द्र स्थापना गरेका छौँ”, कार्यालयका सहायक महाप्रबन्धक केशवप्रशाद पाण्डेले भने, “बिक्री केन्द्र स्थापनाबाट समयमै र सहजरूपमा मल प्राप्त हुने भई किसान लाभान्वित भएका छन् ।”
साल्ट ट्रेडिङले क्षेत्रीय कार्यालय धनगढी र महेन्द्रनगरको उपशाखा कार्यालयमार्फत पनि अनुदानित मल बिक्री गर्दै आएको छ । कार्यालयका सहायक महाप्रबन्धक पाण्डेले आव २०७४/७५ मा अनुदानको युरिया आठ हजार ४५९ मेट्रिक टन, डिएपी तीन हजार १६६ मेट्रिक टन र पोटास २१६ मेट्रिक टन मल बिक्री गरिएको जानकारी दिए ।

प्रकाशित मिति: बिहिबार, साउन ३, २०७५