शुक्रबार, बैशाख ७, २०८१

नुवाकोटका उत्कृष्ट वन समूह पुरस्कृत

नुवाकोट, साउन । पछिल्ला समयमा सामूहिक रुपमा उत्कष्ट काम गर्नेहरुलाई पुरस्कृत गरिन थालिएको छ । जसले गर्दा काममा अझ प्रभावकारिता बढ्दै गईरहेको बेला जिल्ला वन कार्यालय नुवाकोटले जिल्लाभरका सामुदायिक र निजी वनमध्ये राम्रोसँग संरक्षण र व्यवस्थापन गर्ने वन समूहलाई पुरस्कृत गरेको छ ।
कार्यालयले विहीबार विदुरमा आयोजित कार्यक्रममा चारवटा सामुदायिक वन र तीन जना निजी वन सञ्चालकलाई नगदसहित पुरस्कृत गरेको हो ।
सामुदायिकतर्फ विदुर नपा–८ माझीगाउँको माझीगाउँ सामुदायिक वन उपभोक्ता समूह पहिलो, विदुर नपा–११ को कालिकास्थान महिला वन उपभोक्ता समूह दोस्रो, किस्पाङ गाउँपालिका–४ को कन्यास्थान सामुदायिक वन समूहलाई तेस्रो र शिवपुरी गाउँपालिका–४ को गंगादेवी सामुदायिक वनलाई सान्त्वना पुरस्कार प्रदान गरेको छ ।
पहिलो हुनेलाई रु आठ हजार, दोस्रोलाई रु छ हजार, तेस्रोलाई रु चार हजार र सान्त्वनालाई रु दुई हजार नगदसहित पुरस्कृत गरेको हो । यस्तै निजी वनतर्फ किस्पाङ गाउँपालिका–१ का घलेलाई रु पाँच हजारसहित पहिलो, पञ्चकन्या गाउँपालिका–५ का रघुवीर तामाङलाई रु पाँच हजारसहित दोस्रो र म्यागङ गाउँपालिका–४ का वाङदोर्जे तामाङलाई रु तीन हजारसहित तेस्रो पुरस्कार प्रदान गरिएको जिल्ला वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, साउन ३, २०७५