शुक्रबार, चैत्र १६, २०८०

उत्पादकत्व बृद्धि गर्न भूमि नै खराव भएको कृषि मन्त्रीको भनाई

काठमाडौं, असार । कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले नेपालमा कृषि उत्पादन बृद्धि गर्न नसक्नुमा उत्पादन गर्ने भूमि नै खराव भएको बताएका छन् ।
कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालय र अन्तर्राष्ट्रिय धान अनुसन्धान इस्टिच्यूटको वीच धान सम्वन्धी अनुसन्धानका लागि पाँच वर्षे कार्य योजना सहकार्य सम्झौता हस्ताक्षर कार्यक्रममा वाल्दै मन्त्री खनालले सो कुरा बताएका हुन् ।
मन्त्री खनालले नेपालमा धानको विकासका क्षेत्रमा जे जति काम भएको छ ती सह्रानीय भएको भन्दै धान मागको अनुपातमा पर्याप्त भएको छ कि छैन भन्ने कुरा खोजी गर्नुपर्ने समेत बताएका छन् ।
मन्त्री खनालले भने ‘सम्झौताले विगतमा गरिएको कामले आवश्यकता पूर्ति गर्न सक्यो कि सकेन त्यो कुरा नै महत्वपूर्ण रहेको छ । उनले थपे,‘ नेपालका धानको जातको कमी होइन तर पनि हाइव्रिडको माग बढेको छ’ किन बढ्यो कृषि अनुसन्धान परिषद्का विज्ञहरुले यस तर्फ पनि चासो राख्नु पर्ने उनले बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले नेपालको खाद्य सुरक्षाको लागि दुई संस्था वीचभएको सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत बताए । उनले नेपालमा धानले विशेष महत्व वोकेको भन्दै धान सांस्कृतिक, राजनीतिक रुपमा समेत जोडिएको धारणा राखे ।
सचिव जिसीका अनुसार नेपालमा धान उत्पादनमा कमी आउनुको मुख्य कारण प्रविधि विस्तार गर्न नसक्नु र परम्परागत शैली नै अपाउनु रहेको बताए ।
नेपालमा धान सम्वन्धि अनुसन्धानका लागि अन्तर्राष्ट्रिय धान अनुसन्धान इस्टिच्यूट र नेपाल कृषि अनुसन्धान परिषद्वीच सन् २००४, २००९ मा पनि सहकार्य भएको थियो भने पछि सन् २०१० पाँच वर्षका लागि नेपाल सरकारसँग सम्झौता भएको र त्यसलाई निरन्तरता दिंदै २०१७ मा पनि थप १० वर्षका लागि सम्झौता भएको अन्तर्राष्ट्रिय धान अनुसन्धान इस्टिच्यूट(इरी) नेपाल कार्यालयका डा.भवप्रसाद त्रिपाठीले जानकारी दिए ।

प्रकाशित मिति: सोमवार, असार ११, २०७५