शनिबार, बैशाख ८, २०८१

सिँचाईका लागि कुलो बनेपछि किसानहरु खुशी

सिन्धुली, असार । सिन्धुलीको दूधौली नगरपालिका– ११ पत्रिङ्गा सिँचाइ कुलो निर्माण भएको छ । कुलो सञ्चालनमा आएपछि किसानहरुलाई खेती गर्न सहज भएको बताउँछन् ।
असारमा खेती गर्न सिँचाइ कुलो निर्माण भएपछि धान रोप्न सहज भएकोले स्थानीय किसानहरु खुशी देखिएका छन् । कुबेत सरकारको रु एक करोड ८३ लाख ९२ हजार सहयोगमा कुलो निर्माण गरिएको पत्रिङ्गा सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष यज्ञबहादुर कार्कीले बताए ।
तीन किलोमिटर लामो सिँचाइ कुलोले कृषकलाई हिउँदे तथा वर्खे खेती गर्न सहयोग पुग्नेछ । सिँचाइ गर्न वर्षांैदेखि समस्या झेल्दै आएका यहाँका किसानले अब कुलो बनाउनुपर्ने झन्झटबाट मुक्ति पाएका छन् ।
स्थानीय किसान चन्द्रलाल कुमर भन्छन्, “खहरे खोलाको बाढीका कारण बिहान खनेको कुलो बेलुका पुरिँदा हैरान हुन्थ्यौँ,” ।
मझौला सिँचाइले सो क्षेत्रको ८५ बिगाहा जग्गा बाह्रैमास सिञ्चित हुनेछ । खोलाको पानी सदुपयोग गरेर तरकारीखेती समेत गर्न सकिने पत्रिङ्गा सिँचाइ जल उपभोक्ता समितिका उपभोत्ता कृष्णकुमार राउतले बताए । सिँचाईका लागि कुलो निर्माण भए पछि करीब ६० घरपरिवार लाभान्वित भएका छन् ।

प्रकाशित मिति: शनिबार, असार २, २०७५