शुक्रबार, बैशाख ७, २०८१

विदेशबाट फर्केका युवाहरु पशुपालन र तरकारी खेतीमा

म्याग्दी, असार । विदेशमा गरेको दुखलाई सम्झेर नेपालमा नै केही गरौं भन्ने सोचले विदेशबाट फर्केका युवाहरु गाउँमा फर्केर नयाँ अभियानमा जुटेका छन् । धेरै वर्षसम्म विदेशमा बसेर गाउँ फर्किएका बेनी नगरपालिका–४ बास्कुनाका बासिन्दाले गाउँमा ‘एफएम भिलेज’ अर्थात् ‘फुड एण्ड मिल्क भिलेज’ बनाउने अभियान थालेका छन् ।
कृषि पेशामा सम्भावना देखेपछि उनीहरू गाउँ फर्किएका हुन् । बास्कुनाका बासिन्दा अहिले पशुपालन, तरकारी खेती र फलफूल खेती गरी गाउँलाई फलफूल र दूधको गाउँ बनाउन जुटेका छन् । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीको परिचय फेर्न बास्कुना बाहेक अन्य गाउँका बासिन्दा पनि तरकारी खेती तथा पशुपालनमा लागेका छन् । अहिले बास्कुना ‘एफएम’ गाउँका रूपमा चिनिन थालेको छ ।
दुई वर्ष साउदी अरबमा काम गरेर फर्केका तिलक गुरुङले भैँसीपालन, तरकारी खेती र सुन्तला खेतीबाट शुरु गरेको अभियान अहिले गाउँभरि विस्तार भएको स्थानीयवासी श्याम खत्रीले बताए । गुरुङले केञ्जन बहुउद्देश्यीय सहकारी संस्था दर्ता गरेर कृषि र पशुपालन गर्दै आएका आएका छन् ।
वैदेशिक रोजगारबाट फर्केका यहाँका युवाले कृषि र पशुपालनबाट वार्षिक रु १२ लाखसम्म कमाइ गर्न थालेका छन् । विदेशमा छ वर्षमा हुने कमाइ यहाँ एक वर्षमा कमाउन सकिने गुरुङ बताए । पशुपालन, दुग्ध उत्पादन, तरकारी खेती, फलफूल खेती र पोल्टी फार्म आफूहरूको प्रमुख पेशा भएको उनको भनाइ छ ।
छ वर्ष कतारमा बसेर फर्केका मनबहादुर खत्रीले पनि गाउँमै पशुपालन, फलफूल र तरकारी खेती गरिरहेका छन् । उनले पाँचवटा उन्नत जातका भैँसीसमेत पालेर मासिक रु ५० हजारसम्म आम्दानी गर्दैआएका छन् । पशुपालन, तरकारी खेती र फलफूल खेतीबाट यहाँका बासिन्दाले मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्न थालेका छन् । बास्कुनाका बासिन्दाले गरेको मेहनत देखेरै अन्य गाउँका बासिन्दा कृषि र पशुपालनतर्फ आकर्षित भएका छन् ।

प्रकाशित मिति: शनिबार, असार २, २०७५