शुक्रबार, बैशाख ७, २०८१

सहकारीमा अध्यक्ष श्रीमती, प्रबन्ध निर्देशक श्रीमान ! विनाधितो १२ करोड ऋण

काठमाडौं, जेठ ।काठमाडौंको न्यूरोडमा रहेको एयरटेल बचत तथा ऋण सहकारीले सर्वसाधारणको करोडौं रकम जोखिममा पारेको छ । पहिला भारतीय नागरिक रहेका सो सहकारीका प्रबन्ध निर्देशक अशोक जैन भनिने अशोक गोयलले धेरै सर्वसाधारणलाई बिचल्ली बनाएका छन् । भारतीय नागरिक भए पनि उनले नेपालबाट अशोक गोयलको नाममा नेपाली नागरिकता लिएर नेपालीहको पैसा जम्मा गर्ने नाममा सहकारीबाट ठगी गरेका हुन् । उक्त सहकारी सञ्चालन भएको आठ वर्ष पूरा भएको छ । पहिला सामान्य कपडा पसलमा काम गर्ने गोयल नेपाली नागरिकता लिएपछि एकाएक मालामाल हुन थालेका थिए । 
आठ वर्ष अगाडि सामान्य जागिरे गोयल एयरटेलबाटै बह्मलुट मच्चाएर करोडपति बनेका छन् ।

जनकपुरबाट नागरिकता लिएका गोयल सो सहकारीका प्रबन्ध निर्देशक हुन् । उनकी श्रीमती सुमन केडीया सो सहकारीकी अध्यक्ष रहेकी छिन् । सहकारी नियमको उल्लंघन गर्दै एकाघरको श्रीमतीलाई अध्यक्ष बनाएर आफु प्रबन्ध निर्देशक बसी गोयलले उक्त सहकारीबाट आफ्नै नाममा तीन करोड ७५ लाख ५० हजार रुपैयाँ ऋण लिएका छन् । त्यसैगरी, अध्यक्ष रहेकी सुमन केडियाको नाममा दुई करोड १३ लाख ७५ हजार ऋण लिएको पाइएको छ । अध्यक्ष केडिया र प्रबन्ध निर्देशक गोयलको छोरा अन्स गोयलको नाममा दुई करोड ६० लाख कर्जा देखिएको छ ।  
गोयलले आफ्नी छोरी मेख गोयलको नाममा तीन करोड ४७ लाख ऋण लिएका छन् । सञ्चालकले यसरी पारिवारिक रुपमा ऋण लिन नपाउने विद्यमान सहकारी ऐनमा उल्लेख भए पनि गोयलले सहकारी नियम कानुनको बेवास्ता गर्दै विनाधितो ११ करोड ९६ लाख २५ हजार रुपैयाँ ऋण लिएका छन् । सो सहकारीले आफ्ना सदस्यहरुलाई कर्जा दिँदा १७ प्रतिशतसम्म ब्याज लिने  गरेको छ, तर कर्जावालासँग २४ प्रतिशतसम्म ब्याज लिने गरेको एक सदस्यले जनसवाललाई बताए । प्रबन्धनिर्देशक गोयलले १७ प्रतिशत ब्याज कर्जावालाको खातामा र थप सात प्रतिशत आफ्नो खातामा ट्रासन्फर गर्ने गरेको सहकारीकै कर्मचारीहरु बताउँछन् । त्यसैगरी कर्जा लिने व्यक्तिहरुसँग एक प्रतिशत सेवा शुल्क लिने नियम भए पनि तीन प्रतिशत सेवा शुल्क लिएर त्यसमध्ये दुई प्रतिशत सेवाशुल्क गोयलले आफ्नो खातामा ट्रान्सफर गर्ने गरेका छन् ।
गोयलले न्यूरोडकै व्यापारीहरुलाई मिटर ब्याजमा पैसा लगानी गर्ने गरेको र सहकारीकै कर्मचारीहरुको प्रयोग गरी पैसा उठाउने गरेको कर्मचारीहरु बताउँछन् । उनले एक लाखको दैनिक पाँच सयदेखि एक हजार दुई सय रुपैयाँसम्म ब्याज असुल्ने गरेको पीडितहरु बताउँछन । उक्त पैसा सहकारीमा आफूले खोलेको फर्जी खातामा जम्मा गर्ने र केही समयपछि खाता नै बन्द गरी नयाँ फर्जी खाता खोली पैसा जम्मा गर्ने र निकाल्ने गरेको पाइएको छ । 
सहकारीमा जनताले जम्मा गरेको पैसा आफ्नो नाममा, श्रीमतीको नाममा, छोरीको नाममा, छोराको नाममा र फर्जी नाममा समेत कर्जा बनाई सेयर बजारमा, मोबाइल व्यापारमा, मिटरब्याज लगानीलगायत विभिन्न क्षेत्रमा लगानी गर्दै जनताको बचत उच्च जोखिममा पार्दै अकूत सम्पत्ति आर्जन गरी लुट मच्चाइरहेका छन् । गोयलले आफू चढ्ने गाडीदेखि छोरीले चढ्ने स्कुटरसम्म संस्थाको पैसाले किनेको स्रोतले बतायो । डिभिजन सहकारी, सहकारी विभागलगायतका नियामक निकायहरुको आँखामा छारो हाल्दै संस्थाको वास्तविक हिसाब लुकाई गलत विवरण पेस गर्ने गरेको पाइएको छ । उनले आफूले लिने तलबसम्म विभिन्न फर्जी खाता, छोराको, छोरीको खातामार्फत लिने गरेको पाइएको छ । उनले लिने गरेको तलबमा तिर्नुपर्ने सरकारी कर यसैगरी विभिन्न खाताबाट थोरै–थोरै रकमान्तर गरी करछली गरेको पनि पाइएको छ ।
प्रबन्धनिर्देशक गोयलले नियमविपरीत घरजग्गामा लगानी गर्ने, कर्जा दिनुअगाडि सेयर लिएको रकम पनि कर्जा मिलान गरेको भनेर देखाउने, सेयरधनीलाई उसको सेयर रकम फिर्ता नगर्ने सेयर ‘डिसमिस’ गरिदिने, कर्जा रकम आफूखुसी कृत्रिम रुपमा कर्जाको रकम तलमाथि गरिदिनेजस्ता धन्दा चलाईरहेका छन् ।  गोयलले एयरटेल सहकारी मात्रै नभएर ललितपुरमा रहेको ललितपुर फाइनान्स पनि कब्जा गरिसकेका छन् । असार २ मा हुने साधारण सभाबाट ललितपुर फाइनान्सको करीब २० करोडको सेयर लिँदै उक्त फाइनान्स आफ्नो कब्जामा लिदैंछन् । आठ वर्षको अवधिमा गोयलले आर्थिक क्षेत्रमा छलाङ मारेका छन् । उनले एयरटेल, ललितपुर फाइनान्सलगायत ४१ वटा वित्तिय संस्थाको सेयर खरिद गरेका छन् । यस सम्बन्धमा गोयलसँग सम्पर्क गर्दा आफुलाई थाहा नभएर गल्ती गरेको र गल्ती बिस्तारै सच्याउँदै अगािड बढने बताए । उनले आफुले  र आफ्नो परिवारले लिएको ऋण पनि बिस्तारै चुक्ता गर्ने बताए ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ३०, २०७५