बिहिबार, चैत्र १५, २०८०

कृषि मन्त्रालयमा छानी छानी सहसचिव फेरवदल

काठमाडौं, जेठ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सहसचिवको व्यापक फेरवदल हुने तयारी गरिएको छ । यसै क्रममा दुई जना सहसचिवको फेरवदल भईसकेको छ भने वाँकी सहसचिवको फेरवदल गर्नका लागि कृषि मन्त्री चक्रपाणी खनाल र सचिव डा. युवकध्वज जिसीले तयारी गरिरहेका छन् ।
किसान आयोगमा सदस्य सचिव रहेका तेजबहादुर सुवेदीलाई मन्त्रालयको नीति तथा अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखामा ल्याइएको छ । भने सो शाखामा रहेको लेखनाथ आचार्यलाई खाद्य सुरक्षा, कृषि व्यवसाय तथा वातावरण योजना तानिएको छ । आचार्यलाई एक वर्षभित्र चार पटक सरुवा गरिसकेको छ । केही महिना अगाडि मात्र उनलाई कृषि सूचना तथा सञ्चार केन्द्रबाट नीति तथा अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखामा ल्याइएको थियो । कृषि सूचना तथा सञ्चार केन्द्रमा सरुवा गर्नु अगाडि उनी नीति शाखामा नै थिए । थोरै समय उनलाई सो महाशाखामा राखिएको थियो । एक वर्षमा ४ पटक सरुवा हुने सहसचिवमा उनी एकजना मात्र परेका छन् । एमालेसँग नजिक देखिएका उनलाई तात्कालिन कृषि मन्त्री रामकृष्ण यादवको पालामा कृषि सूचनामा फालिएका थियो । त्यसबेला उनले मन्त्रीलाई राजीनामा बुझाएर एक महिना घर विदा बसेका थिए । तर उनलाई अन्याय भएको भन्दै फेरि कृषि मन्त्री यादवले सोही शाखामा नै फिर्ता गरेका थिए ।
अहिले फेरि उनलाई बामपन्थी सरकारकै पालामा अर्को महाशाखामा सरुवा गरिएको छ । किसान आयोगबाट नीति तथा अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखामा ल्याएका तेजबहादुर सुवेदी माओवादी केन्द्र निकट सहसचिव हुन् । उनी किसान आयोग जानु अघि विश्व वैकको अनुदान सहयोगमा सञ्चालनमा रहेको कृषि तथा खाद्य सुरक्षा आयोजनाका प्रमुखका रुपका कार्यरत थिए ।
यी दुई सहसचिवको सरुवासँगै अन्य सहसचिवलाई पनि सरुवा गर्ने गोप्य तयारी गरिएको छ । कृषि सचिव युवकध्वज जिसीले कृषि विभागका महानिर्देशक डा. डिल्लीराम शर्मा, उपमहानिर्देशक प्रकाश सञ्जेल, मन्त्रालयको योजनामा महाशाखामा रहेका डा. योगेन्द्रकुमार कार्कीलाई पनि सरुवा गर्न मन्त्रीसँग लविङ्ग गरिरहेका छन् । जिसीले सरुवा गर्न खोजेका सहसचिवहरु सवै कांग्रेस निकट रहेको बुझिएको छ ।
कृषि मन्त्री चक्रपाणी खनाल र विभागका महानिर्देशक डिल्लीराम शर्मा कपिलवस्तुका छिमेकी भएका कारणले पनि मन्त्रीले राजनीतिक आस्थाका भरमा सरुवा नगर्ने सोच पनि बताएका छन् । तर डा. योगेन्द्रकुमार कार्कीलाई पनि सरुवा गर्ने करीव करीव पक्का पक्की नै छ । उनलाई किसान आयोग वा कृषि सूचना तथा सञ्चार केन्द्रमा लैजाने गोप्य तयारी पनि भएको देखिन्छ ।
त्यस्तै कृषि विभागमा सवैभन्दा सानो उमेरमा उपमहानिर्देशक बनेका प्रकाश सञ्जेललाई भने कञ्चनपुरको तालिम केन्द्रमा पठाउन लागिएको छ ।

प्रकाशित मिति: शनिबार, जेष्ठ २६, २०७५