बिहिबार, चैत्र १५, २०८०

कृषि मन्त्रालयमा सचिव र मन्त्रीको टक्कर

काठमाडौं । बाम एकताको सरकारमा सोही एकताधारी निकट मन्त्री र सचिव वीच नै टकराव शुरु भएको बताईएको छ । माओवादीको बम बनाउने कमाण्ड सम्हालेर आएका मन्त्री चक्रपाणी खनाल र रामपुर क्याम्पसमा एमाले निकट प्राध्यापकहरुको नेतृत्व सम्हालेर राजनीति गरेका सचिव डा.युवकध्वज जिसी वीच समन्वय हुनुको सट्टा कृषि विकास मन्त्रालयमा टक्कर शुरु भएको बताइएको छ । कृषि मन्त्रीले खटनपटन गराएका काम गर्ने कुरामा कृषि सचिव सहमत नभएको मन्त्री निकट श्रोतले बताएको छ । मन्त्रीले यो वा त्यो फाइल सदर गर्न निर्देशन दिएपनि सचिव जिसीले आफू खुशी गर्ने गरेको उनीहरुले आरोप पनि लगाएका छन् । विगत भए एमाले र माओवादीको आरोप लगाउन पनि मिल्थ्यो तर अहिले एमाले र माओवादी एकै भईसकेको अवस्थामा यो अवस्था किन आयो भन्ने चर्चा कृषि विकास मन्त्रालयमा चल्न थालेको छ । कृषि मन्त्री चक्रपाणीसँग जनयुद्धको दवदवा अझै पनि देखिएको छ भने सचिव जिसीमा पनि आफ्नो योग्यता र क्षमताका दम्भ छ । त्यसकारण पनि मन्त्री सचिव वीचको टक्कर बढ्दै गएको हुन सक्ने बताइएको छ ।
कृषि मन्त्री र कृषि सचिव वीचको कागजी युद्धले कृषि क्षेत्रको विकासमा अवरोध पुग्ने पक्का पक्की देखिएको छ । आर्थिक वर्षको अन्त्य आईपुग्दा कृषि मन्त्रीले कतिपय बजेट आफूखुशी र आफ्ना विगतका पार्टी कार्यकर्ताहरुले ल्याएका अनुदानका प्रस्ताव स्वीकृत गर्ने र निकासा दिन सचिवलाई निर्देशन दिएको पनि बताइएको छ । तर सचिव जिसीले जथाभावी प्रस्तावका आधारमा मनलाग्दो किसिमले बजेट बाँड्न नमिल्ने भन्दै फाइल थन्क्याएको पनि बुझिएको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २२, २०७५