मङ्लबार, बैशाख ११, २०८१

पाँच वर्षभित्र कृषि उत्पादन दोब्बरले वृद्धि हुने ! तर कसरी ?

काठमाडौँ, जेठ । आगामी आर्थिक वर्षका लागि सरकारले बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्ने क्रममा सरकारले कृषिको दिगो विकास गरी आगामी पाँच वर्षभित्र कृषि उत्पादनमा दोब्बर वृद्धि गर्ने बताएको छ । विगतमा बर्षहरुमा पनि सरकारले यस्तै नारा र बजेट भाषण नगरेको भने होइन तर कृषि उत्पादन बृद्धि हुनुको साटो दिन प्रतिदिन घट्दै गईरहेको देखिन्छ ।
हाल कूल गार्हस्थ्य उत्पादन (जिडिपीमा) कृषि क्षेत्रको योगदान ३२ प्रतिशत छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै करार, सहकारी र सामूहिक खेतीमार्फत मुलुकले दिगो कृषि विकासको लक्ष्य पूरा गरिने बताए । तर कसरी पूरा गर्न सकिन्छ भन्ने कुनै ठोस कार्यक्रम देखिएको छ । विगतकै नियमित कार्यक्रम बाहेक नयाँ कार्यक्रम पनि देखिएको छैन । जुन कार्यक्रमले पाँच वर्षभित्र कृषि उत्पादन दोव्वर हुने छ ।
पशुपालन र कृषि क्षेत्रका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषिको दिगो विकास कार्यक्रम बजेटले अगाडि सारिएको छ । जसका लागि आव ०७५÷०७६ मा रु चार अर्ब ७७ करोड रकम विनियोजन गरिएको छ । परियोजना पकेट, ब्लक, जोन र सुपर जोनमा वर्गीकरण गरिएको हो ।
अर्थमन्त्री डा खतिवडाले सरकारले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिीकीकरणमार्फत कृषिको दिगो विकास हासिल हुने बताउँदै कृषिमा युवालाई आकर्षित गर्नका लागि कृषि अनुदानमा रु पाँच अर्ब रकम विनियोजन गरिएको जानकारी दिएका छन् ।
विशेष गरी चिया, कफी, अलँैची, सुपारी आलु, केरा तथा कागतीको उन्नत बीउ र बिरुवा उत्पादनलाई प्राथमिकता प्रदान गरेको उल्लेख गर्दै उनले विदेशिएका र स्वदेशका बेरोजगार युवालाई कृषिमा आकर्षण गर्न कृषि कर्जालाई प्रभावकारी र सर्वसुलभ बनाइने समेत बताए ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १५, २०७५