शनिबार, बैशाख ८, २०८१

सिँचाइ सुविधा पुगेपछि खुशी

बाजुरा, जेठ । ढेडदशकदेखि सिंचाई अभावका कारण धानखेती गर्न नपाएका बाजुरा जिल्लाको बडिमालिका किसान यतिखेर खुशी देखिएका छन् । मडिमालिका नगरपालिका–७ रजातोलीको माथिल्लो खेतमा डेढ दशकदेखि सिँचाइ हुन सकेको थिएन । डेढ दशकभन्दा अघिसम्म धानखेती गर्न नपाएका रजातोलीवासीले यस वर्ष सहज रूपमा रोपाइँ गर्न पाउने भएपछि निकै खुशी देखिएका छन् । सिँचाइ कुलो मर्मत भएपछि अहिले स्थानीय किसानले धानखेती गर्न पाउने भएका छन् ।
गाउँ नजिकैको खोलाको पानी सिँचाइ गर्न कुलो निर्माण गरिएको भए पनि २०६१ भदौमा भएको अविरल वर्षाका कारण नहर बगायो । सिँचाइ कुलोको नहर बगाएपछि स्थानीयवासीले माथिल्लो खेतमा १४ वर्षदेखि धानखेती लगाउन नपाएका हुन् ।
यसभन्दा पहिलेका वर्षमा सबै खेतमा कोदोमात्र लगाउने र धान रोपाइँ हुन नसकेको स्थानीयवासी देवराज पाध्यायले बताए । असारमा धान रोप्न पाउने भएपछि सबै किसानले धानको बेर्नासमेत लगाइसकेका बडिमालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए ।
जिल्ला सिँचाइ सबडिभिजन कार्यालय बाजुराको रु एक करोड ६० लाख ६७ हजारको लगानीमा निर्माण गरेपछि रजातोलीका १०२ घर परिवारभन्दा बढी परिवार लाभान्वित हुने जिल्ला सिँचाइ सबडिभिजन कार्यालयका प्रमुख छविराज जोशीले जानकारी दिएका छन् ।
रजातोलीमा ६८० जनसंख्या छ । डेढ सय मिटर लामो पक्की सिँचाइ कुलो बनाइसकिएकाले यो वर्ष ७०० रोपनी जमिन सिँचाइ हुने भएको छ । तीन वर्षदेखि सञ्चालन गरिएको ऋषिमाण्डौ सिँचाइ योजना सम्पन्न हुने चरणमा पुगेकाले यो असारमा नै रोपाइँ गर्न सकिने कार्यालय प्रमुख जोशीको भनाइ छ । -– प्रेम रौले

प्रकाशित मिति: शनिबार, जेष्ठ ५, २०७५