शनिबार, बैशाख ८, २०८१

संरक्षण हुन नसक्दा चितुवाको संख्यामा ह्रास

चितवन,जेठ । बिरालो प्रजातिको महत्वपूर्ण जनावर चितुवा संरक्षण हुन नसक्दा यसको संख्या घट्दै गएको अनुमान गरिएको छ ।  अन्तर्राष्ट्रिय प्रकृति संरक्षणका लागि संगठनले गरेको अनुसन्धानमा सन् २०१० देखि २०१४ सम्ममा काठमाडौँमा मात्रै २५ वटा चितुवा मरेका थिए । तराईदेखि पहाडसम्म पाइने हुँदा देशभर चितुवा के कति मारिए यकिन तथ्यांक कसैले नलिए पनि विभिन्न कारणबाट चितुवा मर्ने र मारिने क्रम बढ्दो देखिएको छ ।
आइयुसिएनको अनुसन्धान प्रतिवेदनमा सबैभन्दा बढी शिकारको कारण चितुवा मारिएका छन् भने आहार घट्दै जानु र वासस्थानको अभावले चितुवाको संख्या घटेको अनुमान गरिएको छ । सन् २०१२ मा गरिएको एक अध्ययनमा नेपालमा एक हजारको हाराहारीमा चितुवा रहेको अनुमान गरिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूची– १ मा संरक्षित २७ प्रजाति रहेकामा चितुवा नपरेका कारणले पनि संरक्षणमा कम चासो भएको बताउछन् । बिरालो प्रजातिका बाघ, हिउँ चितुवा र ध्वाँसे चितुवा अनुसूची–१ मा परे पनि चितुवा नपरेकाले यसको संरक्षण हुन नसकेको हो ।

 

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ४, २०७५