बिहिबार, बैशाख १३, २०८१

मःमः बेचेर मासिक तीस हजार बचत

झापा,जेठ । विदेशमा मात्र पैसा कमाउन सकिन्छ भन्ने मानसिकता विरुद्ध उदाहरणीय बनेका छन् झापा भद्रपुर नगरपालिका– ६का सन्देश रिजाल । रिजालले कनकाई क्याम्पस विर्तामोडमा स्नातक तह पढ्दापढ्दै मःमः बेच्न थालेका हुन्। रिजालले दुई वर्षदेखि मःमः यहाँका विभिन्न बजारमा बिक्री गर्दैआएका छन्।

मःमः व्यवसाय शुरु गरेका रिजाल अहिले पनि कनकाई क्याम्पसमा स्नातकोत्तर तहको व्यवस्थापन संकायमा अध्ययनरत छन् । पढ्दा पढ्दै कोरिया जान दुई पटकसम्म इपिएस परीक्षा दिएर दुबैपटक अनुत्तीर्ण भएका थिए। “दुईपटक नै एक नम्बर नपुगेर कोरिया जान असफल भए, त्यही परीक्षा सफलताको सुत्रधार बन्यो,” रिजालले भने ।

दुई पटकको असफलतापछि उहाँले विर्तामोडमा मःमः फर्म खालेका हुन्। सो फर्मले उनलाई स्वरोजगार मात्र बनाएन अरुलाई समेत रोजगारी प्रदान गरेको छ । उनको मःम फर्म अहिले झापाकै लोकप्रिय बनेको छ । विर्तामोडस्थित कनकाई क्याम्पसको नजिकै उनले ‘उरी मःमः फर्म’ खोलेका छन्। उनले कोरियन भाषाबाटै फर्मको नाम उरी राखेका हुन्।

‘उरी’ को नेपाली अर्थ हुन्छ हाम्रो । पटक–पटकको असफलतापछि रिजालले कोरियन भाषामै मःमः फर्मको नाम राखेका हुन् । उक्त फर्मबाट उनको अहिलेको कमाइ कोरियाको भन्दा कम छैन । विसं २०७२ साउन मा फर्म दर्ता गरेर कारोबार शुरु गरेका रिजालले अहिले १२ जनालाई रोजगार दिएका छन् ।

“मासिक रु ३० हजार बचत हुन्छ,” उनले भने ।

विर्तामोडसहित झापाका विभिन्न बजारमा उनी मःमः बनाएर बिक्री गर्छन् । फास्टफुडका लागि लोकप्रिय बनेको मःमः अहिले रिजालको आम्दानीको मुख्य स्रोत हो । आम्दानी गरेको देखेपछि हिजोआज रिजाललाई उनका साथीहरुले सो व्यवसायबारे सिकाउन आग्रह गर्दैआएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ४, २०७५