शुक्रबार, चैत्र १६, २०८०

रासायनिक मलको कारोवारमा वृद्धि

विराटनगर,जेठ । पुर्वाञ्चलमा रासायनिक मलको कारोबारमा बृद्धि भएको छ । कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न र मलको समस्या पूरा गर्न साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय विराटनगरद्वारा पूर्वाञ्चलमा शुरु गरिएको रासायनिक मलको कारोवार अत्यधिक रुपमा वृद्धि भएको हो ।

विगतमा आयोडिनयुक्त नून तथा चिनीको कारोवार गर्दै आएको साल्ट ट्रेडिङ रासायनिक मलको बिक्री वितरणमा सफल हुँदै गएको छ । कृषि सामग्री संस्थानले किसानलाई खेतीका लागि आवश्यक परेकाबेला रासायनिक मल उपलब्ध गराउन नसक्दा र मलको हाहाकार भएकाबेला २०७० सालबाट साल्ट ट्रेडिङले रासायनिक मल उपभोक्तालाई वितरण गरेको सहकारी संस्थाका पदअधिकारीले बताएका छन् ।

साल्ट टे«डिङ अञ्चल कार्यालय विराटनगरका अनुसार ३८७ वटा सहकारी संस्थामार्फत सुनसरी, मोरङ, धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभालगायतका ग्रामीण तथा दुर्गम क्षेत्रमा मल बिक्री वितरण भइरहेको छ ।
२०७४ साउनदेखि २०७५ वैशाखसम्ममा युरिया मल दुई लाख २७ हजार बोरा, डिएपी मल ६७ हजार बोरा र पोटास पाँच हजार बोरा र एमोनियम सल्फेट दुई हजार ८०८ बोरा बिक्री वितरण भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ४, २०७५