शुक्रबार, बैशाख ७, २०८१

कुकुरले टोकेका बिरामीको संख्या वृद्धि

गौशाला,जेठ । बढ्दो गर्मीसँगै महोत्तरीको जिल्ला अस्पताल, जलेश्वरमा कुकुरले टोकेको बिरामीको संख्यामा अत्यधिक रुपमा वृद्धि भएको छ ।यसअघि फाटफुट रुपमा कहिलेकाहीँ मात्र एक – दुईजना कुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल, जलेश्वरमा अहिले दैनिक औसतमा एक दर्जन त्यस्ता बिरामी आउने गरेको अस्पताले जनाएको छ ।

बढ्दो गर्मीसँगै अहिले कुकुरको मानसिक अवस्था बिग्रिने गरेकाले कुकुरको सम्पर्कमा जानेलाई कुकुरले बढी टोक्ने गरेका कारण अहिले जिल्ला अस्पतालमा दैनिक कुकुरले टोकेका बिरामीको चाप बढेको जनाइएको छ ।दस नगरपालिका र ५ गाउँपालिका रहेको महोत्तरीका विभिन्न गाउँठाउँबाट कुकुरले टोकेका बिरामी आउनुका साथै जलेश्वर अस्पतालमा भारतीय बिरामीसमेत उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख डा राजीव झाले बताए ।

उनका अनुसार अप्रत्यासित रुपमा कुकुरले टोकेका बिरामी बढेपछि अहिले बिरामीलाई चिकित्सकले विशेषरुपमा ध्यानपूर्वक सेवा दिइने गरेको बताए । कुकुरले टोकेको प्रत्येक बिरामीलाई रोगबाट बच्नका लागि प्रोफालेक्सिस नामक एन्टिरेबिज भ्याक्सिन दिइने गरिएको छ भने घाउको प्रकृति हेरी एकजनालाई तीनदेखि पाँच भाइल (डोज) सम्म भ्याक्सिन दिनुपरेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३, २०७५