शुक्रबार, बैशाख ७, २०८१

नाम साना किसान वैंक काम म्यानपावर !

काठमाडौं, जेठ । साना किसानहरुको उत्थानका लागि खुलेको भनिएको साना किसान विकास वैंकले कृषि उत्पादकत्व बृद्धि गर्ने किसानहरुका लागि ऋण प्रवाह गर्दछ भन्ने धेरैले अनुमान पनि गरेका छन् । ग्रामिण भेगमा साना किसान सहकारी संस्था सञ्चालन गरी निक्षेप समेत उठाउँदै आएका सहकारीको छाता संगठनका रुपमा आफूलाई प्रस्तुत गर्दै आएको सो वैकले किसानलाई दिने व्याजको अनुपात भने अत्यन्तै चर्को रहेको छ ।
किसानका लागि भनेर खुलेको साना किसान वैंक विगतकेही वर्षदेखि प्रशिक्षार्थी कामदारका रुपमा म्यानपावरको काम गर्दै आईरहेको देखिन्छ । वैकको आफ्नो उदेश्यमा सो कुरा उल्लेख नभएपनि हरेक वर्ष साना किसान सहकारीमा आवद्ध सदस्यका परिवारलाई कृषि प्रशिक्षणका लागि भन्दै इजरायली दूतावासको सहकार्यमा उसले यो म्यानपावर जस्तै काम गरिरहेको देखिन्छ ।
सरकारको नालायकीपनका कारण विगत १० वर्षदेखि इजरायलमा वैधानिक रुपका कामदार प्रवेश निषेध गरेको भएपनि प्रशिक्षार्थीका रुपमा साना किसान विकास वैकले कृषि क्षेत्रमा काम गर्नका लागि युवाहरुलाई पठाउँदै आएको हो ।
साना किसान विकास वैकले प्रशिक्षार्थीका रुपमा युवायुवतीलाई इजरायल पठाउने कार्य गैरकानूनी भएको र म्यानपावरको काम गरेको भन्दै दुई वर्ष अगाडि तात्कालिन कृषि राज्यमन्त्री राधिका तामाङ्गले प्रशिक्षार्थी कामदारका रुपमा इजरायल पठाउने कार्य साना किसान विकास वैकले नगरी सरकारले नै गर्नु पर्ने र कोरियामा प्रशिक्षार्थी कामदार पठाउने प्रक्रिया जस्तै बनाउने पर्ने बताएकी थिईन् । तर अहिलेसम्म पनि सो कार्यले सफलता पाउन सकेको छैन ।
तामाङ्ग अहिले प्रदेश नं. ३ को उपसभामुख पदमा आसिन छिन् भने उनकै पार्टीका नेता चक्रपाणी कृषि मन्त्रीका रुपमा विराजमान छन् । तर, साना किसान विकास वैकले म्यानपावर कम्पनीलाई विर्साउने किसिमले प्रशिक्षार्थी पठाउने काम गरिरहँदा पनि सरकार मौन छ । साना किसान विकास वैकले इजरायल कामदार पठाउने क्रममा केही बर्ष अगाडि कृषि सचिव उत्तम कुमार भट्टराईको किर्तै हस्ताक्षर गरेको विषयले सनसनी मच्चाएको थियो । जुन अझै कृषि विकास मन्त्रालयका उच्च अधिकारीलाई ताजै होला ? के साना किसान विकास वैकले गरेको प्रशिक्षार्थी कामदार पठाउने कामलाई सरकारले निश्चित मापदण्ड भित्र ल्याउने काम गर्नु पर्दैन ? भोली साना किसान वैक जस्तै अन्य वित्तिय संस्थाले प्रशिक्षार्थी कामदारमा रुपमा कोरिया, जापान पठाउँछु भन्यो भने पाउने कि नपाउने ?

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३, २०७५