बुधबार, बैशाख १२, २०८१

वन व्यवस्थापन कार्ययोजना अलपत्र

तेह्रथुम,वैशाख । जैविक विविधतायुक्त टीएमजे तेह्रथुमसहित संखुवासभा र ताप्लेजुङको ५ सय ८५ वर्ग किमिमा फैलिएको बृहत् लेकाली वन क्षेत्रलाई संरक्षित वन घोषणा गर्ने कार्ययोजना अलपत्र परेको छ । जिल्ला वन कार्यालयले क्षेत्र, विभाग हुँदै स्वीकृतिका लागि मन्त्रालय पठाएको तीनजुरे मिल्के जलजले टीएमजे क्षेत्रको संरक्षित वन व्यवस्थापन कार्ययोजना वन मन्त्रालयमा पुगेर रोकिएको हो  । वन कार्यालयले अध्ययनपछि तयार गरी स्वीकृतिका लागि पठाएको कार्ययोजना मन्त्रालयमै थन्किएपछि पर्या–पर्यटन र जैविक विविधताका हिसाबले महत्त्वपूर्ण मानिएको टीएमजे क्षेत्रको संरक्षित वन कार्यक्रम अलपत्र परेको हो । टीएमजे क्षेत्रको १० वर्षे संरक्षित वन व्यवस्थापन कार्ययोजना तयार गरी वन कार्यालयले स्वीकृतिका लागि मन्त्रालय पठाएको थियो । कार्ययोजना मन्त्रालयमा पुगेर लामो समयदेखि रोकिएको जिल्ला वन कार्यालयले जनाएको छ ।
टीएमजे तेह्रथुमसहित संखुवासभा र ताप्लेजुङको ५ सय ८५ वर्ग किमिमा फैलिएको बृहत् लेकाली वन क्षेत्र हो । यो क्षेत्रमा २८ प्रजातिका गुराँस फुल्छन् । जैविक विविधतायुक्त यो क्षेत्र संरक्षित र लोपोन्मुख वन्यजन्तु र जडीबुटी रहेको स्थानसमेत हो । तीन वर्षअघि नै लागू हुने भनिएको यो परियोजनाका लागि ग्रिन सोलुसन नेपाल नामक संस्थाले टीएमजे क्षेत्रको आगामी ५ वर्षे कार्ययोजना निर्माण गरेको थियो ।

प्रकाशित मिति: सोमवार, बैशाख ३१, २०७५