बिहिबार, बैशाख १३, २०८१

‘उड कम्बस्टर भट्टी’ तर्फ अलैची किसान आकर्षित

पाँचथर ,वैशाख । सिंहवाहिनी इन्जिनियरिङ बक्स एण्ड इनर्जी प्रालिले पूर्वका सात जिल्लामा उन्नत अलैँची भट्टी प्रवद्र्धन परियोजना सञ्चालन गरेको छ । परियोजना संञ्चालन भएसँगै अलैँची किसान परम्परागत भट्टी त्यागेर आधुनिक भट्टीतर्फ आकर्षित हुन थालेका छन् । अलैँची सुकाउन कम इन्धन चाहिने, समयको बचत हुने तथा सुकाइएको अलैँचीमा प्राकृतिक रङ र बास्ना हुने भएकाले किसान आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन् । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–७ का जनकलाल राई आफूले जडान गरेको उन्नत भट्टी प्रभावकारी भएको भन्दै अन्य अलैँची कृषकलाई समेत त्यसको प्रयोग गर्न सुझाव दिएका छन् । सिंहवाहिनी इन्जिनियरिङ बक्स एण्ड इनर्जी प्रालि सुनसरीको आयोजना तथा उन्नति कार्यक्रमको सहयोगमा उन्नत अलैँची भट्टी प्रवद्र्धन कार्यक्रम सञ्चालन भएपछि किसानले ड्रम भट्टीलाई त्याग्न थालेका हुन् ।
पाँचथरसहित तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, इलाम र ताप्लेजुङमा गतवर्षदेखि परियोजना सञ्चालनमा छ । परियोजना सञ्चालन भएपछि आधुनिक भट्टीको माग बढेको प्रालिका प्रबन्धक गोपाल खड्काले बताउए । ‘उड कम्बस्टर भट्टी’ नामक भट्टीको प्रयोगतर्फ कृषक आकर्षित हुँदै गएका तथा उक्त भट्टीको मूल्य रु ३० हजारदेखि रु एक लाखसम्म पर्ने समेत खड्काले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, बैशाख २८, २०७५