शुक्रबार, चैत्र १६, २०८०

भन्सार छुट गराएर लाखौं कुम्ल्याउँदै कृषिका व्यापारी

काठमाडौ, वैशाख । कृषि विकास मन्त्रालयका यतिखेर आधा दर्जन कृषि उपकरण आयात गर्ने व्यापारीहरुको लर्को देख्न सकिन्छ । केही समय अगाडि प्रांगारिक मलका व्यापारीहरुको पनि यस्तै लर्को लाग्ने गरेको थियो अनुदानका लागि । तर अहिले कृषि मन्त्रालयमा लर्को देखिएका व्यापारीहरु भने अनुदानका लागि नभएर विभिन्न मुलुकबाट ल्याउने गरिएका कृषि उपकरणको भन्सार छुट गराउनका लागि लागिपरेका हुन् ।
आर्थिक ऐनले ‘भन्सार छुट पाउने कृषि उपकरणहरुमा कृषि, बागवानी तथा पुष्प फार्महरुले पैठारी गर्ने ग्रिन हाउस, सिंचाई उपकरण र यस्तै अन्य यन्त्र उपकरण’ भन्ने उल्लेख गरेको छ । यसैलाई आधार मानी यस अघि वीरगञ्ज भन्सार कार्यालयमा मिलेमतो गरी ग्रिन हाउस, सिंचाईका उपकरणहरु भित्र्याईरहेको व्यापारीहरुलाई भन्सार कार्यालयमा कडाई गरिएपछि उनीहरु रन्थनिदै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा धर्ना कसेका छन् ।
कृषिको आधुनिकीकरणका लागि ग्रिन हाउस निर्माणका लागि भन्दै विगतदेखि नै भारत, चीन लगायत विभिन्न मुलुकबाट प्लाष्टिक तथा ग्रिन हाउसका लागि आवश्यक उपकरण भन्सार छुट गरि ल्याईरहेको पाईएको छ । तर किसानहरुले भने ग्रिन हाउस तथा थोंपा सिंचाईका लागि चर्को मूल्य तिरिरहनु परेको छ ।
किसान तथा कृषि सहकारीहरुले कृषि उपकरण आयात गर्नका लागि भन्सार छुटको व्यवस्था छ । तर व्यापारीहरुले किसानहरुले यो वा त्यो नाममा किसान एवं सहकारीले ग्रिन हाउस खरिद गरेर ल्याउन नसक्ने भन्दै सो सुविधा आफूहरुले पाउनु पर्ने अडान राख्दै करीव एक दर्जन कृषि उपकरण आयात गरिरहेका कम्पनीहरुले कर छुटका लागि कृषि सचिवलाई निवेदन दिएका छन् ।
त्यत्तिमात्र होइन कृषिलाई आधुनिकीकरण, यान्त्रिकीकरण गर्नका लागि भन्सार छुटको माग गर्दै नेपाल कृषि मेशिन व्यवसायी संघ (नामिया) का नामबाट पनि सो संस्थाका महासचिव खोजराज कट्वालले निवेदन हालेका छन् ।
केही समय अगाडि कृषि इन्जिनियरिङ्ग निर्देशनालयले कृषि उपकरण खरिद गर्नका लागि कम्पनीहरुलाई सूचि दर्ता गर्ने तोकेको मापदण्डको विषयलाई लिएर सो संस्थाका पदाधिकारीहरुवीच नै फाटो आएको थियो । अहिले त्यही संस्थाले ग्रिन हाउस र थोंपा सिंचाईका लागि आवश्यक उपकरणको भन्सार छुट माग गरेको छ । तर संस्थागत रुपमा मन्त्रालयसँग भन्सार छुटका लागि माग नभएको र व्यक्तिगत रुपमा माग गरिएको संस्थाका एक सदस्यले कृषिअनलाईनलाई बताए ।
विगतमा भन्सार छुट गरिएका सामान किसानले सरल मूल्यमा पाएत भन्ने प्रश्नमा उनले किसानहरुले भन्सार छुट अनुरुप सामान खरिद नगरेको स्वीकार गरे । कृषिको विकासका लागि भन्दै कृषि उपकरण भन्सार छुट गरी ल्याउने र त्यसलाई व्यापारीहरुले चर्को मूल्य असुल्दै आईरहेका छन् । कृषिको व्यवसायीकरणका लागि भन्सार छुट सरकारले दिनु पर्दछ । तर, अहिले भन्सार छुट मागिरहेका कम्पनीहरुले विगत पाँच वर्षमा के कति सामान भन्सार छुट गरेर ल्याएका थिए । किसानलाई कुन मूल्यमा बेचिरहेका छन् भन्ने कुराको अनुगमन गर्नु आवश्यक छ ।
अन्यथा किसानको नाममा ग्रिन हाउस, प्लाष्टिक लगायतका उपकरण भन्सार छुट गरी ल्याउने फेरि त्यही किसानलाई चर्को मूल्यमा विक्री गर्ने व्यापारीको लुट धन्दा कायम नै रहने देखिन्छ ।

प्रकाशित मिति: मङ्लबार, बैशाख २५, २०७५