मङ्लबार, बैशाख ११, २०८१

आधुनिक कृषि प्रणालीको विकास हुनु पर्ने सञ्चार राज्यमन्त्रीको भनाई

काभ्रे, वैशाख । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कृषि प्रणालीको विकासका लागि वैज्ञानिक र आधुनिक कृषि प्रणालीको विकास हुन जरुरी रहेको बताए ।
काभ्रेपलाञ्चोकको बनेपास्थित कृषि मेला समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “आधुनिक कृषि प्रणालीको विकासमा सरकारको ध्यान केन्द्रीत छ ।”
राज्यमन्त्री बाँस्कोटाले कृषि बजारको व्यवस्थापन, लगानी र सम्मान अहिले राज्यले लिन खोजेको नीति हो भन्दै जसले कृषिको काम गर्छ उसैले जमिनमा खेती गर्न पाउनुपर्ने उनले बताए ।
“खोलेको छ फलाम कारखाना, जमिन ओगटेको छ सयौँ रोपनी, अनि कसरी हुन्छ उत्पादन ?” भनी प्रश्न गर्दै उहाँले राज्यको कृषि नीति समयसापेक्ष हुन नसक्दा उत्पादन घट्दो क्रममा रहेको बताए । राज्यमन्त्री बाँस्कोटाले टुक्रे प्रणाली अपनाएकै कारण कृषि क्षेत्र समापन हुन लागेको चर्चा गर्दै कृषकलाई निर्वाहमुखी नभई व्यवसायमुखी बन्न सुझाव दिए ।
कार्यक्रममा तरकारीजन्य, दूधजन्य, मासुजन्य, प्राङ्गारिक, जैविक विषादी, जैविक मल, कृषिसम्बन्धी नयाँ प्रविधिको प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा उत्कृष्ट कृषकलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।

प्रकाशित मिति: मङ्लबार, बैशाख १८, २०७५