शुक्रबार, चैत्र १६, २०८०

निजी वनतर्फ किसानको आकर्षण

उर्लाबारी, वैशाख । उत्तरी मोरङको टाँडीका किसान निजी वनतर्फ आकर्षित भएका छन् । कृषि मजदुरको अभावमा दुई बाली धान फल्ने खेत बाँझै बस्न थालेपछि किसान खेतीको विकल्पमा निजी वन लगाउन लागेका हुन् । साविक टाँडीको ४, ५ र ६ नं. वडा (हाल मिक्लाजुङ–४)का किसानले झण्डै छ बिघा जग्गामा वृक्षरोपण गरेका छन् ।
खेतमा धान बाली लाग्ने भए पनि कामदारको अभावमा एक बिघा जग्गामा एक हजार चार सय टिकका बिरुवा रोपेको हात्तीमाराका किसान नीलराज लुइँटेलले बताए ।
चार वर्षअघि झण्डै दुई लाख रुपियाँ लगानी गरी टिकका बिरुवा लगाएका लुइँटेलको जग्गा अहिले लोभलाग्दो भएको छ । बिरुवा रोपेको तेस्रो वर्षदेखि लुइँटेलले हाँगाबिँगा बेचेर धानको भन्दा बढी आम्दानी लिए । उनले भने , बिरुवा सानो हुञ्जेल उक्त जग्गामा रहर दाल लगाएँ । पहिलो वर्ष आठ हजार मूल्यको रहरको दाल उत्पादन भयो, दोस्रो र तेस्रो वर्ष क्रमशः दस हजार र १३ हजारको दाल बेचेँ । बिरुवा बढेपछि बहुबाली लगाउन अप्ठ्यारो भएको उनको अनुभव छ ।
लुइँटेलले बिरुवा लगाएको देखेपछि हात्तीमाराका धेरै किसान वृक्षरोपणतर्फ आकर्षित भएका छन् । अर्का किसान काजेन्द्र लिम्बूले भने, खेतीमा आधुनिक प्रविधि भित्रिन सकेन । कामदार महँगा भए । फेरि धान खेतीको आम्दानीले घर खर्च नै धान्न छोड्यो । लिम्बूले अहिले दस कट्ठा जग्गामा बिरुवा लगाउनु भएको छ ।
तत्काल आम्दानी नहुने भए पनि टिक लगाएको जग्गा मलिलो हुने भएकोले त्यो जग्गामा बहुबाली लगाउन सकिने लिम्बूको बुझाइ छ । उनले भने, मकै, रहरको दाल र अदुवा, बेसार खेती गर्न सजिलो भएको छ । बिरुवा लगाएको जग्गामा घाँस पनि राम्रो आउने भएकोले बाख्रा र गाई पाल्न पनि सजिलो भएको छ ।

प्रकाशित मिति: बिहिबार, बैशाख ६, २०७५