बिहिबार, बैशाख ६, २०८१

के गर्दैछन् पूर्व कृषि मन्त्री हरिप्रसाद पराजुली ?

काठमाडौं, बैशाख ।२०७२ साल आषाढ १५ गते धान दिवसका दिन रोपाइँ काण्डका कारण मन्त्री पदबाट बाहिरिएका पूर्व कृषि मन्त्री हरिप्रसाद पराजुली के गर्दै होलान् भन्ने कुरा धेरैको मनमा उब्जिएको हुन सक्छ । त्यसबेला जति विवाद देखियो त्यो विवादले उनलाई पटक्कै छोएको पनि छैन । रोपाइँ काण्डले सामाजिक सञ्जाल रंगियो, संसदमा हंगामा मच्चियो, उनकै पार्टी भित्र पनि एकथरी उनका विपक्षमा उभिएका थिए । ख्याल ख्यालमा नै उनको कृषि मन्त्रीको पद गयो । न विरानु न डराउनु भन्ने उक्ति पराजुलीले मनमा राखि रहे । र त अहिले पनि उनी कृषि क्षेत्रमा नै सक्रिय रुपमा लागि रहेका छन् । बलेको आगो ताप्ने हाम्रो समाजमा कृषि मन्त्री पदमा रहँदा पराजुलीबाट धेरै फाइदा उठाएका कर्मचारीहरु व्यक्तिहरु अहिले विशिष्ट श्रेणीमा पुगेका पनि छन् । धेरैले फरक फरक किसिमको फाइदा उठाए पनि तर ती व्यक्तिहरु पराजुलीको सम्पर्कभन्दा बाहिर छन् । कृषि विकास मन्त्रालयमा रहेको कतिपय व्यक्ति उनको नाम नै सुन्न चाहँदैनन् । किन कि हरिप्रसाद पराजुली कृषि मन्त्री हुँदा मज्जाले व्यक्तिगत स्वार्थ लुटे । अव पराजुली निभेको आगो भएका छन् त्यसकारण पनि उनका नाम लिन नचाहने कृषि विकास मन्त्रालयमा नै उनकै मान्छेहरु छन् ।
पूर्व कृषि मन्त्रीहरु मध्ये धेरैले कृषि क्षेत्रमा सक्रिय भएका छैनन् । त्यसबेला निकै नै विवादित भएका पराजुली के गर्दै छन् भन्ने हामीले चासो लिने प्रयास ग¥यौं । पूर्व कृषि मन्त्री पराजुलीलाई भेट्यौ र उनका कृषि विकासका कुरा धेरै सुन्यौं । उनी हराएका छैनन् । कृषि क्षेत्रमा नै तल्लीन भएर लागेका छन् । अखिल नेपाल किसान महासंघका उपाध्यक्ष पराजुलीले नयाँ कृषि अभियान सहकारीको कार्यवाहक अध्यक्षका रुपमा जिल्ला जिल्ला गएर किसानहरुलाई प्रशिक्षण दिदै हिडिरहेका छन् ।
उनी भन्छन्,‘कृषि क्षेत्र दिनप्रतिदिन विग्रँदै गएको छ । कृषिको अनुदान किसानसम्म पुग्नै सकेन । किसानले उत्पादन गरेको कृषि उपज विक्रीका आधारमा अनुदानको व्यवस्था गर्ने काम उनले मन्त्री हुँदा गर्न सकिन भन्छन् । ’
केही समय कृषि मन्त्रीका रुपमा बसिरहेको भए अहिलेको जस्तो कृषिमा अनुदान नभएर किसानकै हातमा पुग्ने गरी किसानले उत्पादन गरेको कृषि उपज विक्रीका आधारमा अनुदान दिने तयारी गरिरहेका थिए । दूर्भाग्य उनलाई धान काण्डले तान्यो । त्यस बेलाको परिस्थिति बारे उनी भन्छन्, ‘कुनै व्यक्तिलाई (आफूलाई) सिध्याउने नियतमा गरिएको खेल हो । अरु कुरा भन्न चाहन्न’ उनी सुनाउँछन् ।
तर पनि उनी भागेका छैनन् किसानकै माझमा गएर विभिन्न तालिमहरु सञ्चालन गर्दै जिल्ला दौडाहामा निस्किएका छन् । कृषि विकास मन्त्रालयले तयार गरेको तथ्यांकलाई हेर्ने हो भने खाद्यान्नमा हामी आत्मनिर्भर हुनु पर्ने थियो किन भएका छैनौं ? उनी प्रतिप्रश्न गर्दछन् ।
आफ्नै पालामा तयार गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि सोचे अनुरुपको काम नगरेको पराजुलीको भनाई छ । जोन, सुपर जोन, पकेट र व्लक भन्दैमा कृषि उत्पादन बढ्ने होइन । हामीले खोजेको सुपर जोन अहिले कार्यान्वयमा ल्याएको जस्तो होइन यसले कृषि उत्पादकत्व बृद्धि कुनै हालतमा हुँदैन उनी ठोकुवा गर्दछन् । उत्पादकत्व बृद्धि गर्नका लागि निश्चित क्षेत्रलाई जोन वा सुपर जोन बनाउने हो भने हाम्रो आवश्यकताका आधारमा बस्तु तथा बाली उत्पादन गर्नु पर्दछ । तर क्षेत्रफलका आधारमा उत्पादन गरेर कागजमा उत्पादन बृद्धि देखाएर कृषि क्षेत्रको विकास हुँदैन उनी भन्छन् ।
पछिल्लो समयमा कृषि विकास मन्त्रालयको संगठनात्मक संरचनाका बारेमा कृषि अनलाईनको प्रश्नमा उनले भने उँट जस्तो संरचना बनाउने अनि उत्पादकत्व बृद्धि गर्छु भन्ने हावादारी गफले कृषि क्षेत्र ध्वस्त हुन्छ बन्दैन । कृषि विकास मन्त्रालयले किसानको आवश्यकता केहो मुलुकको आवश्यकता के हो सो अनुरुप लगानी गर्नु पर्ने उनको भनाई छ तर त्यसो हुन दिंदैनन् उनको आरोप पनि छ ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ४, २०७५