शुक्रबार, चैत्र १६, २०८०

व्यावसायिक टिमुरखेतीमा आकर्षण

पाल्पा, वैशाख  । टिमुरको बजार राम्रो सम्भावना देखेपछि पाल्पाका किसान व्यावसायिक रूपमा टिमुरखेतीमा आकर्षित भएका छन् । टिमुरको बजारमा माग बढेसँगै जिल्लाको पश्चिम भेगमा रहेको रिब्दीकोट गाउँपालिका–७ पालुङ्मैनादीका किसान व्यावसायिक रूपमा टिमुरखेतीतर्फ आकर्षित भएका हुन् ।

पालुङ्मैनादीका किसानहरूले ठूलोचौर कबुलियती सामुदायिक वन समूह गठन गरेर व्यावसायिक रूपमा टिमुरखेती गरेका हुन् । यसअघि घरायसी प्रयोजनका लागि मात्र टिमुर प्रयोग गर्दै आएका किसान टिमुरको व्यावसायिक खेती गरेर आयआर्जनको माध्यम बनाउन सक्रिय बनेका हुन् ।
टिमुरको सेवन मानव स्वास्थ्यका लागि लाभदायी हुने र यसका परिकार बनाउने प्रचलन बढेपछि बजारमा अहिले यसको माग बढ्दै गएको छ । यसले यहाँका किसानलाई टिमुरखेती व्यावसायिक रूपमा अघि बढाउन प्ररित गरेको जिल्ला वन कार्यालय पाल्पाले जनाएको छ ।
टिमुरको माग बढेपछि यसको बिरुवा संरक्षण र खेतीमा आफूहरू सक्रिय बनेको ठूलोचौर कबुलियती सामुदायिक वन समूहकी अध्यक्ष दुर्गा पुनले बताए । हामीले घरमा खान मात्र यहाँको टिमुर टिप्ने गथ्र्यौं,  अहिले यसको बजारमा माग बढेपछि व्यावसायिक रूपमै खेती सुरु गरेका छौँ । वनमाराले ढपक्कै ढाकेका जङ्गल सफा गरेर र खाली स्थानमा टिमुरका बिरुवा हुर्काएको वन समूहका अध्यक्ष पुनले बताए।
यहाँका स्थानीय बासिन्दाले ठूलोचौर कबुलियती सामुदायिक वनमा करिब पाँच हजारवटा टिमुरका बिरुवा हुर्काएका छन् । वनमा आफैँ उम्रिएका बिरुवालाई आधुनिक प्रविधि अपनाई अपरेसनसमेत गरिएको छ । जसले गर्दा बिरुवा राम्रोसँग हुर्किएका छन् । जथाभावी फँडानी गरेर टिप्दा टिमुरले फल राम्रो दिन छाडेको थियो ।
यस क्षेत्रलाई टिमुर पकेट क्षेत्र बनाउने योजनासहित काम गरिरहेको वन प्राविधिक रामचरण चौधरीले बताए । यस क्षेत्रमा टिमुरको व्यावसायिक खेती सम्भावना रहेकाले वन उपभोक्तालाई खेतीबारे तालिम र औजार प्रदान गरेको चौधरीले बताए। सरकारले जडीबुटीको अनुसन्धान, विकास तथा खेतीअन्तर्गत टिमुरलाई प्राथमिकताको सूचीमा राखेपछि टिमुरखेतीतर्फ सरोकारवाला निकायले विशेष चासो राख्न थालेको हो ।

प्रकाशित मिति: सोमवार, बैशाख ३, २०७५