बुधबार, मंसिर १३, २०८०

डडेल्धुराका किसान व्यावसायिक तरकारी खेतीमा लागे

डडेल्धुरा,८ मङ्सिर । गहँुबाली लगाउने समय भए पनि जिल्लाका किसान अन्नबाली लगाउन छोडेर तरकारी खेतीतर्फ उन्मुख भएका छन् । अन्नबाली लगाउँदा खान नपुग्ने जमिनमा तरकारी लगाउँदा वर्ष दिनलाई पुग्ने गरी अन्न भित्र्याएर रु ५० हजारदेखि रु ६० हजारसम्म बचत गर्न थालेका छन् । समैजी– ८ महरगाउँका करन पार्की चार रोपनी जमिनमा तरकारी लगाएर घरखर्च चलाएर वार्षिक रु एक लाखसम्म बचत गरिरहेको बताए ।
जिल्लाका विभिन्न गाउँका किसान गैरसरकारी सस्थाको आर्थिक र प्राविधिक सहयोगमा व्यावसायिक रूपमा तरकारीखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । थोरै जमिन आकासे पानीको भरमा खेती गर्दा उब्जनी खासै नहुने भएपछि यहाँका किसान तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।
परम्परागत खेती गर्दै आएका किसानलाई तरकारी खेतीका बारेमा समेत जानकारी र फाइदाको विषयमा अभिमुखिकरण गरे पश्चात जिल्लाका प्रायः लक्षित वर्ग र महिला तरकारी समूहमा आवद्ध भई व्यावसायिक रूपमा तरकारीखेतीतर्फ आकर्षित भएका परियोजनाका संयोजक ऐरको भनाइ छ । जिल्लाका गाङ्खेत, समैजी, आलिताल, बगरकोट, अजयमेरु, असिग्राम, कोटेली, परशुराम नगरपालिका, र अमरगढी नगरपालिकाको पोखरा, भत्काँडा, राईलगायत ठाउँमा किसानले समूह निर्माण गरी व्यावसायिक रूपमा तरकरीखेती गर्दैआएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७३