मङ्लबार, अशोज ९, २०८०

सुन्तला उत्पादनमा कमी

म्याग्दी, २९ कात्तिक । सुन्तला उत्पादनमा भारी मात्रामा कमी आएपछि म्याग्दीका किसान निराश भएका छन् । फल लाग्ने बेलामा पर्याप्त पानी नपरेका कारण सुन्तला उत्पादनमा कमी आएको कृषकको भनाइ छ । बोटमा फल नै कम लागेको र अहिले बोटमा फलेका सुन्तलाका दानासमेत झर्न थालेपछि समस्यामा परेको बेनी नगरपालिका–१३ बास्कुनाका सुन्तला खेती गर्दै आएका कृषक भीम थापाले बताए । orange
बाइस घरधुरीको बसोबास रहेको बास्कुनामा गत वर्ष सुन्तला निकासीबाट रु २२ लाख भित्रिए पनि यो वर्ष एक तिहाइ कम सुन्तला उत्पादन भएको कृषक थापाको भनाइ छ । बास्कुना सुन्तला उत्पादक कृषक समूहका अध्यक्षसमेत रहेका थापाले अघिल्ला वर्षहरूको तुलनामा सुन्तला उत्पादन घटेपछि कृषक निराश बनेको थापाले बताए ।
‘‘गत वर्ष आठ ट्रक सुन्तला निर्यात गरेका थियौँ, यो वर्ष मुस्किलले तीन ट्रक उत्पादन भएको अनुमान छ’’ – थापाले भने । बास्कुनासँगै भकिम्लीको मरेक र राखुमा समेत सुन्तला उत्पादनमा कमी आएको छ । भकिम्लीको राखुमा सडक सञ्जाल पुगेपछि सुन्तलाको मूल्य राम्रो पाए पनि उत्पादनमा भने कमी आएको सुन्तला खेती गर्दै आएका स्थानीय कृषक बेगबहादुर घर्तीले बताए ।

प्रकाशित मिति: सोमवार, कार्तिक २९, २०७३