काठमाडौं,कार्तिक । कृषि विकास मन्त्रालय र मातहतमा कार्यरत कर्मचारीले तालिम अवलोक भ्रमण तथा गोष्ठिका नाममा गत श्रावणदेखि असोज मसान्तसम्म ३ सय ६५ पटक विदेश भ्रमण गरेका छन् । विभिन्न देशका दातृ निकायले आयोजना गरेका कार्यक्रममा मन्त्रीदेखि विभिन्न तहका कर्मचारीहरु सो संख्यामा विदेश भ्रमणमा गएको कृषि विकास मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
यो अवधिमा कृषि विकास मन्त्री गौरीशंकर चौधरी रोम र कोरिया गरी दुईपटक मात्र विदेश गएका छन् । सहसचिवहरु ६३ पटक विदेश भ्रमणमा गएका छन् । कृषि विकास मन्त्रालयबाट एकैपटक ८९ जना विदेश भ्रमणमा गएको कृषि विकास मन्त्रालयको तथ्यांकमा देखिन्छ । विदेश भ्रमणमा जाने सहसचिवको अग्रस्थान डा.सुरोज पोख्रेलले ओगटेका छन् । गत आर्थिक बर्षमा इटाली, भियतनाम, युएई, जर्मनी,फिलिपिन्स र दुईपटक थाइल्याण्ड पुगेका छन् । चालु आर्थिक बर्षको तीन महिनामा उनी ३ पटक विदेश भ्रमणमा पुगिसकेका छन् । वैदेशिक भ्रमणमा जाने अर्का भाग्यमानी सहसचिवमा कृषि मन्त्रालयका सहसचिव लेखनाथ आचार्य परेका छन् । उनी विगत १२ महिनाको वीचमा ८ पटक विभिन्न देशको अवलोकन भ्रमण गर्न पाएका छन् ।
त्यसै गरी कृषि विभागका महानिर्देशक डा. युवकध्वज जिसी र उपमहानिर्देशक सुर्यप्रसाद पौडेलको विदेश भ्रमणको दौड भने बराबरी देखिन्छ । जिसी र पौडेल ७÷७ पटक विदेश भ्रमणमा गएका छन् । त्यस्तै कृषि विकास मन्त्रालय योजना महाशाखाका सहसचिव योगन्द्रकुमार कार्कीले नि आधा दर्जन देश भ्रमण गर्ने मौका मिलाएका छन् । उनले जापान कोरिया लगायत ६ देश भ्रमण गरेका छन् ।
कृषि विकास मन्त्रालयको प्रशासन महाशाखामा आएका मध्ये भाग्यमानी सहसचिवका रुपमा काशीराज दाहाल पनि परेका छन् । उनले पनि एक बर्षमा ५ देश घुम्ने अवसर प्राप्त गरेका छन् । कृषि विकास मन्त्रालयले कर्मचारीहरुलाई अवलोकन तथा तालिम भ्रमणका लागि एक पटक ८९ कर्मचारीलाई विदेश भ्रमणमा पठाएको छ । कृषि विकास मन्त्रालयको आधिकारीक तथ्यांकलाई हेर्ने हो भने हरेक बर्ष तालिम तथा अवलोकन भ्रमणका नाममा २ हजार ५ सयजनासम्म विदेश भ्रमणमा लगेको देखिन्छ । तर कृषि विकास मन्त्रालयले विदेशको कृषि क्षेत्रमा भएको परिवर्तन त्यहां भएको कृषि आधुनिकीकरणका बारेमा तालिमका नाममा कर्मचारी पठाउने गरिएको भएपनि त्यसको औचित्य भने खासै देखिएको छैन ।
विदेशमा कृषिका फार्म तथा कृषि उपज उत्पादन बृद्धिका अवस्थालाई सिकेर किसानसम्म पु¥याउने उदेश्य राखिएपनि हालका दिनसम्म पनि विदेशमा देखेका वा सिकेका कुरा किसानसम्मको त कुरै छाडौं कृषि विकास मन्त्रालय भित्रै पनि जानकारी नगराउने प्रचलन नै छ । कृषि विकास मन्त्रालयबाट हरेक हप्ता जस्तो जाने वैदेशिक भ्रमण अपारदर्शि र चाकडीका भरमा मनोनयन हुने गरेको कृषि विकास मन्त्रालयकै कर्मचारीहरु बताउंछन् । कृषि विकास मन्त्रालयले गर्ने चौमासिक गोष्ठिहरुमा कृषि क्षेत्रको विकासका कुरा भन्दा पनि वैदेशिक भ्रमणकै विषय बढी उठ्ने र विवाद हुने गरेको देखिन्छ । यस्ता विवाद बढ्नुलाई कृषि विकास मन्त्रालयकै उच्च अधिकारीहरु (सहसचिव) विदेश भ्रमणमा बढी लोभिने चर्चा पनि बेला बेलामा हुंदै आईरहेको छ । हरेक पटकको विदेश भ्रमणको विषय विवाद हुने गरेको भएपनि त्यसलाई पारदर्शि बनाउने काममा भने कृषि विकास मन्त्रालय चुकेको देखिन्छ ।
कृषि मन्त्रालय: तीन महिनामा ३सय ७५ पटक विदेश

Add Comment