काठमाडौं, असोज । कृषि विकास मन्त्रालय मातहतमा रहेको सवैभन्दा ठूलो आयोजनाका रुपमा रहेको व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले नयां कार्यक्रम निर्देशक पाउने भएको छ । सो आयोजनामा कार्यरत आयोजना निर्देशक डा. इन्द्रकान्ता झाको उमेदहदका कारण अवकाश भएका कारण सो आयोजनाले नयां कार्यक्रम निर्देशक पाउन लागेको हो ।
कृषि विकास मन्त्रालय मातहतमा रहेको धेरै आयोजनाहरु मध्ये सवैभन्दा बढी चर्चासंगै विवादमा पनि आईरहने प्याक्ट आयोजनामा आयोजना निर्देशकका रुपमा तरकारी बाली निर्देशनालयमा कार्यरत कार्यक्रम निर्देशक गोविन्दप्रसाद शर्मालाई सरुवा गरिंदै छ । प्याक्ट आयोजनामा कार्यलय प्रमुखका रुपमा सरुवा हुनका लागि विगतमा जुन लिगलिगे दौड हुने गर्दथ्यो यो पटक भने सो आयोजनामा कोही जान नमानेपछि शर्मालाई सरुवा गरिएको हो ।
सो आयोजनामा आयोजना निर्देशकका रुपमा सहसचिव स्तरको दरवन्दी रहेको छ । विगतमा सो आयोजनाको जुन किसिमको प्रभाव थियो पछिल्लो समयमा सो प्रभाव घट्दै गएको भन्दै मन्त्रालय मातहतमा कार्यरत कुनै पनि सहसचिव आयोजना निर्देशकका रुपमा जान नमानेपछि सहसचिव मध्ये सिनियर नै मानिएका शर्मालाई सरुवा गर्न लागिएको छ । सम्भवत शर्माले सरुवाको पत्र बुधबार नै पाउने श्रोतले बताएको छ ।
त्यसैगरी कृषि विभागका महानिर्देशक डा. युवकध्वज जिसीलाई पनि विभागको महानिर्देशकबाट हटाउन खोजिएको छ । जिसीलाई महानिर्देशकबाट हटाएर कृषि सूचना तथा सञ्चार केन्द्रको प्रमुखका रुपमा सरुवा गर्न खोजिएको छ । भने विभागको महानिर्देशकमा बाली विकास निर्देशनालयका कार्यक्रम निर्देशक डिलाराम भण्डारीलाई ल्याउन खोजिएको छ । त्यसैगरी कृषि सूचना तथा सञ्चार केन्द्रका प्रमुख मिनप्रसाद बुढाथोकीलाई भने मध्यमाञ्चाल क्षेत्रीय कृषि निर्देशनालयमा सरुवा गर्ने तयारी गरिएको उच्च श्रोतले बताएको छ । सहसचिव स्तरका कर्मचारीको सरुवाका लागि कृषि मन्त्री गौरीशंकर चौधरीको सचिवालयमा कार्यरत कर्मचारी र माओवादी केन्द्र निकट कर्मचारी संगठन कै सल्लाह बमोजिम सरुवाको लिष्ट तयार गरिंदै छ ।
प्याक्ट आयोजनामा गोविन्दप्रसाद शर्मा निर्देशक !

Add Comment