शनिबार, अशोज १३, २०८०

असार १५ गतेको कन्त विजोग

कृषि विकास मन्त्री हरिवोल गजुरेलले असार १५ गते गमलामा धान रोपेर करुवाले पानी हालेको दृश्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको लागि हासोमा उडाउने गतिलो विषय वस्तु बन्यो । साच्चै नै भन्ने हो भने शतप्रतिशत नेपालीका लागि पनि त्यो दृश्य हासो र पाखण्डकै प्रतिक हो भन्दा हुन्छ। तर सोचौं त । के त्यसो गर्नाकालागि मन्त्री गजुरेलले आयोजककर्तालाई निर्देशन दिएका थिए ? उनी अतिथि भएर गए, आयोजककर्ताले जे गर्न लगाए त्यहि गरे । समारोहस्थलमा जब यो कामका लागि उनलाई अनुरोध गरिदै थियो त्यतिवेला उनले यसो गर्नुहुन्न भनेर रोक्न सकेनन् । यसो यो सब परिपाटी र मेसो मिलाउने बुज्रुक आयोजकबारे पनिखोजि नीति गर्ने हो कि?rabi shrestha
तर यथार्थमा यो प्रतिक जति सत्य र सुदूर भविष्यमा यहि परिमाण नेपाली जनताको घरदैलोमा घामजस्तै छर्लङै देखिने निश्चित नै छ । यहि गतिमा देशका जनशक्ति विदेशमा बेच्दै गयौं भने । सरकार वैदेशिक रोजगारीका लागि विभिन्न निकाय बनाएर कानूनी रुपमै देशको जनशक्ति बेच्ने जो गरिरहेको छ । सबैलाई थाहा भएको कुरा हो गाउँ वेशी फाँट, टारहरू बाँजिदै गएको छ । धान चामलमा निर्भर नेपाली आज अर्बौको चामल किनेर खाने भएका छन् । चालु आर्थिक वर्षकै पहिलो १० महिनामा १८ अर्ब ८६ करोड रुपैयाँको चामल पचाइ सकियो । उर्बर भूमिमा घडेरी जोडेर घर बनाउने सपना बोक्ने हामी नै हौं । खेतीपाती छाडेर राजमार्गको किनारमा टाँस्निने हामी नै हौं । यो देशमा केही हुँदैन भनेर विदेशिने पनि हामी नै हौ । र गमलामा धान रोपी करुवाले पानी हाल्नु पर्छ भन्ने पनि हामी नै हो । कसैलाई दोष दिएर कोही उम्कने स्थिति छैन ।
कृषि नेपालीको परम्परा हो । पहाड, उच्च पहाडदेखि तराइहोस वा सहर सबैको जीवनसँग खेतीपाती नै जोडिएकै छ । यो परम्परागत पेशामा खिया लाग्दै जाँदा, आधुनिक बैज्ञानिक प्रविधिको धार लगाउन नसक्दा आज हामी गमलामा धान रोप्ने जस्ता कारुणिक दृश्य हेर्न बाध्य भएका छौं । कृषिमा आधारित अर्थतन्त्र हुँदाहुँदै पनि कृषिको समुन्नतिकालागि काम गर्ने निकायको निकक्मापनले निम्त्याएको यो पाटोको समाधान खोजिहाल्ने बेलाभएको छ ।
९५ प्रतिशत जनता किसान हुन् र सम्पूर्ण अर्थतन्त्र कृषिमा निर्भर छ, हाम्रो देश कृषि प्रधान देश हो भनेर पढदै आएका पछिल्लो पुस्ता अहिले पचास वर्ष उमेरको हाराहारीमा देशमै कृषि वा अन्य पेशामा जीवन बिताइरहेका छन् । पछिल्लो अर्थात् आजको मितिमा ६७ प्रतिशत जनता कृषिमा आश्रित छ भन्ने तथ्यले पनि नेपाल कृषिप्रधान देश नै हो । देशको आधार भनेको कृषि नै हो । यो आधारको जगबलियो नबनाइ देशको विकास असम्भव छ भन्ने बुझेका सरकार, प्राज्ञिकवर्ग र किसान आफैले पनि कहिल्यै महत्व दिएन । कृषिमा जुन क्रान्ति हुनुपर्ने थियो, त्यो भएन । कृषिको लागि आवश्यक सिंचाइ, मल, माटो प्रविधि वीउ आदि कहिल्यै प्राथमिकतामा परेन । देश गरीव भनेर संसार सामु परिचय दिएर आजसम्म आफ्नो उपस्थिति देखाइरहेको छ । कि त हामी कृषि पेशा अपनाएर गरिब भयौ वा समय अनुसार कृषिको स्तरोन्नति गर्न नसकेर गरीब भयौं । यीदुई पक्ष हाम्रो चुनौति हो । राष्ट्रले विकासको कार्यक्रममा यी चुनौतिलाई सम्बोधन गरेर कार्यक्रम तय गरेर अगाडि नबढे कयौं वर्ष हामी यहि अवस्थामा बाँच्न बाध्य हुने छौं,यो अनुभवले देखाएको छ ।
केहीवर्ष यता कृषि क्षेत्रको विकासका लागि राष्ट्रिय बजेटमा बृद्धि लगायत विदेशीदातृ निकायको अनुदान र ऋण सहयोगमा सरकारी तथा गैर सरकारी निकायबाट विभिन्न परियोजना सञ्चालनमा आएका छन् । तर ती परियोजनाहरूको कामले किसानको भविष्य होइन, सञ्चालन गर्नेहरूको भविष्य चाहिँ बन्दै गएको हो कि भन्ने पनि प्रतित हुन्छ । छिटो, छरितो समयमै किसानसम्म पुग्नका लागि सञ्चालित परियोजनाका काम र व्यवहारमा भएका ढिलाइ अब कसैको सामु लुकेको विषय भएन । निश्चित अवधि तोकेर निश्चित उद्देश्यका साथ सञ्चालनमा आएका यस्ता परियोजनाबाट कृषि क्षेत्रमा देखिने गरी परिवर्तन हुनुपर्ने हो तर हुन सकिरहेको छैन । हरेक जिल्लामा रहेका कृषि र पशु कार्यालयलाई थाहा हुनुपर्ने हो को वास्तविक किसान को हुन् । तर परियोजनाबाट लाभान्वित हुनेमा वास्तविक किसानहरूको पहुँच छैन । परियोजना सञ्चालन गर्दा यी निकायसँग समन्वय नगरिएर हो वा गरेर पनि यो अवस्था देखाप¥यो ?अहिले नयाँ शब्द प्रचलनमा आएको छ( राजनीतिक किसान, यस्तो वर्ग जो जुनै प्रकारको परियोजना सञ्चालनमा आए पनि त्यसबाट फाइदा लिन सक्षम । हो त्यहि वर्गले कृषि क्षेत्रलाई पनि गाँजेको छ । त्यसलाई वेलैमा नगोडने हो भने वनमारा झैं फैलिने पक्का छ ।
हाल सञ्चालित परियोजनाको नतिजा प्रायःशुन्य छ र वास्तविक किसानसम्म कार्यक्रम वितरण हुन सकेको छैन । भ्रष्टाचार मौलाउने र किसानलाई अझ हतोत्साही गराउने काम भइरहेको किसानहरूको गुनासो छ । कृषि आयोजनाहरू भ्रष्टाचारको दह्रो अखडा बन्दै गएको हुँदा कस्ता मानिसको नेतृत्वमा आयोजना सञ्चालन भइरहेको छ र कस्ता मानिसले यो सुविधा उपभोग गरेका छन् यसमा खोजी नीति हुनु ढिलो भइसकेको ठहर पनि किसानहरूको छ ।
अब कृषिलाई यान्त्रीकरण, उन्नन र वैज्ञानिक ढंगले अगाडि लैजाने हो वा कृषिलाई सीमित गरेर अन्य विषय वस्तुमा देश प्रवेश गर्ने हो,पर्यटन,पानी (हाइड्रो), युवाहरूलाई विदेश निर्यात वा अन्य । अब छनोट गर्न ढिला भइसकेको छ ।
असार १५, नेपाली किसानको मुठी रोपेर मुरी फलाउने दिन हो अर्थात यो देशकै । सामाजिक र सांस्कृतिक पहिचान स्थापित गरिसकेको यो दिनलाई पछि धान दिवस भन्न थालियो । स्वभाविकै हो जसै यो दिवसको रुपमा अगाडि बढदै छ । हाम्रा पुर्खाले धान खेती गरेर यो देशलाई भात खान आत्मनिर्भर बनाएका थिए भनेर धान दिवस मनाएझैं कुनै दिन ६२ प्रकारको धान उमार्ने यो देशमा घरघरमा गमलामा धान देखिने दिन नआउला भन्न सकिन्न । – रविकुमार श्रेष्ठ

प्रकाशित मिति: सोमवार, असार २०, २०७३