बिहिबार, अशोज ११, २०८०

पहाडमा रोपाइ शुरु, तराईमा व्याड राख्दै

सुर्खेत असार । मध्यपश्चिमाञ्चल विकास क्षेत्रका पहाडी जिल्लाहरुमा धान रोपाइ शुरु भएको छ । छिटपुट रुपमा झरेको वर्षातले यो वर्ष कृषकहरुले जेठको अन्तिम सातादेखि नै धान रोप्न शुरु गरेका हुन् । पहाडका ७ र हिमालका ५ जिल्लामा जेठको अन्तिम साताबाट धमाधम धान रोप्न थालिएको छ । प्युठान ५० र जाजरकोटमा ४५ प्रतिशत रोपाई भएको क्षेत्रीय कृषि निर्देशनालयका प्राविधिक सहायक पूर्ण थापाले बताए ।
जेठ महिनाको मध्य सातादेखि शुरु भएको वर्षात अझै कायम रहे पहाडी र हिमाली क्षेत्रमा असार पहिलो सातासम्म धान रोपाई सकिने आँकलन थापाको छ । ‘हिमाल र पहाडमा छिटो रोपाई हुने गरेको बताएका थापाले तराईमा भने असार दोस्रो साताबाट धान रोप्न शुरु हुने जानकारी दिए । कुल १ लाख ८६ हजार २२९ हेक्टर क्षेत्रफलमा धान खेती हुने मध्यपश्चिमका अन्य जिल्लाका कृषकहरु भने धान रोप्ने तयारीमा छन् । तराईका ३ जिल्ला बाँके, बर्दिया र दाङमा भने धानको व्याड राख्ने काम जारी छ ।
अघिल्लो वर्ष भन्दा यो वर्ष प्रयाप्त वर्षात हुँदा कृषकले धान रोप्न थालिसकेको निर्देशनालयका प्राविधिक सहायक थापाको भनाई छ । ‘हिमालदेखि तराईसम्म समान वर्षा भएको छ’ थापाले भने,–‘गत वर्ष बाँझै रहेका जमिन पनि यो वर्ष कृषकले जोत्न र खन्न थालेका छन् ।’ मध्यपश्चिमका हिमाली र पहाडीभन्दा तराईका तीन जिल्लामा बढी धान खेती हुन्छ । यसमध्य बर्दियामा ५२ हजार, दाङमा ३८ हजार पाँचसय र बाँकेमा ३६ हजार पाँचसय हेक्टरमा धान खेती हुने गरेको सरकारी तथ्याङ्ग छ ।
अझै पनि मध्यपश्चिमका सवै जिल्लाहरुमा प्रयाप्त सिँचाई नपुगेकाले कतिपय कृषक भने आकाशे पानीको भर पर्नु परेको थापा बताउँछन् । कुल धान उत्पादन हुने क्षेत्रमध्य १ लाख १६ हजार २३४ हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा छ । तर ६९ हजार ९९५ हेक्टर क्षेत्रका कृषक भने प्रयाप्त आकाशे पानी कुर्न पर्ने अवस्था छ ।
हालसम्म सवैभन्दा बढी बर्दियामा सिँचाई सुविधा पुगेको जिल्ला हो । बर्दियामा ४२ हजार, दाङमा १८ हजार ७८० र बाँकेमा १५ हजार हेक्टर सिंचित क्षेत्र हो । पहाडी जिल्ला मध्य दैलेखमा ७ हजार ९९७, सल्यानमा ६ हजार २७४, प्युठानमा ५ हजार ५६०, सुर्खेतमा ४ हजार सातसय, रोल्पामा ३ हजार ९३१, रुकुममा २ हजार ७५० र जाजरकोटमा २ हजार ५६२ हेक्टर सिँचित क्षेत्र रहेको निर्देशनालयका थापाले जानकारी दिए । यता हिमाल पाँच जिल्ला मध्य बाह्रैमास पानीको सुविधा भएका जिल्ला मध्य जुम्ला पहिलोमा पर्छ । जुम्लामा २ हजार ८३९, मुगमा १ हजार ८७५, कालीकोटमा १ हजार ४८०, हुम्लामा २८४ र डोल्पामा २०२ हेक्टर क्षेत्र मात्रै सिँचाई पुगेको क्षेत्र हो । डिलप्रसाद शर्मा

प्रकाशित मिति: सोमवार, असार ६, २०७३