काठमाडौँ, जेठ । ‘कृषिका सम्पूर्ण क्षेत्रमा साम्राज्यवादद्वारा लादिएको नवउदारवादी नीतिका विरुद्ध सङ्घर्ष गरौँ’ भन्ने नाराका साथ प्रथम विश्व किसान सम्मेलन नेपालमा सुरु भएको छ ।
सो सम्मेलनमा भारत, बङ्गलादेश, पाकिस्तान, जर्मनी, जापानलगायत विश्वका ५० राष्ट्रका कृषिविज्ञ तथा किसानको सहभागिता रहेको छ ।
सम्मेलनमा उप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले आधुनिक कृषि प्रणालीका नाममा बहुराष्ट्रिय कम्पनीले साना किसानबाट जमिन खोसेर उनीहरूलाई सडकमा बाँच्न बाध्य पारेको बताए ।
नेपालमा थुप्रै परिवर्तन भए पनि त्यसलाई कृषकले महसुस गर्न नसकेको बताउँदै उहाँले भन्नुभयो– “अहिले पनि मुक्त कमैया, हरूवा, चरुवालाई सरकारले मुक्त घोषणा गरेपनि अझै उनीहरू अहिलेसम्म दासताको जीवन जीउन बाध्य छन् ।”
कृषि विकासमन्त्री हरिबोल गजुरेलले संविधानमा भूमि सुधारका कुरा उल्लेख भए पनि अहिलेसम्म त्यो कार्यान्वयनमा नआउँदा किसानको अवस्थामा परिवर्तन नआएको धारणा व्यक्त गरे ।
उनले नीति तथा कार्यक्रममा केही हदसम्म किसानका सम्बोधन भएको बताउँदै सबै राजनीतिक दलको प्रतिबद्धता भए भूमि सुधारका कार्यक्रम कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले नवउदारवादविरुद्ध सम्पूर्ण कृषक एकताबद्ध भएर सङ्घर्ष गर्नुपर्ने बताउँदै त्यसका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । अबको कृषि क्रान्तिका लागि नवसाम्राज्यवादविरुद्ध नयाँ सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले “नेपालमा भूमिसुधार तथा कृषि विकासका कार्यक्रम लागू गर्ने सन्दर्भमा राष्ट्रिय कृषक सञ्जाल गठन गरी कार्य अगाडि बढाएको समेत बताए ।
सम्मेलन मूल आयोजक समितिका संयोजक भैरवराज रेग्मीले सो सम्मेलन व्यावसायिक कृषि प्रणालीका विरुद्ध भएको जानकारी दिँदै भूमि अधिकार प्राप्तिका लागि सम्मेलनले महत्वपूर्ण हुने बताए ।
Add Comment