बिहिबार, अशोज ११, २०८०

उत्पादन बढाउन गहुँत

म्याग्दी, १४ जेठ । अर्मन गाविसका किसानले गहुँतको प्रयोग गर्न थालेपछि रोग किराको प्रकोप नियन्त्रण हुनुका साथै कृषि उत्पादनमा बृद्धि भएको छ ।
किसानले जैविक विषादीका रूपमा गहुँतको प्रयोग गर्न भकारो सुधार गरेर मूत्र सङ्कलन गर्ने गरेका छन् । सुधारिएको भकारोबाट सङ्कलित पशुको गहुँत तरकारी र खाद्यबालीमा लाग्ने रोग किरा नियन्त्रण गर्न प्रयोग गर्दैआएको किसानहरु बताउंछन् ।
गहुँतको प्रयोग गर्न थालेपछि विषादीका लागि गर्नुपर्ने आर्थिक लगानी बचत भएको छ । “बिषादीमा हुने लगानी घट्यो, उत्पादन पनि बढ्यो’, कृषक गणेश आचार्यले भने । जिल्ला कृषि विकास कार्यालयद्वारा सञ्चालित दिगो भू–व्यवस्थापन कार्यक्रमको प्राविधिक सहयोगमा सो गाविसका कृषकले भकारो सुधार गरेका छन् ।
भकारोबाट सङ्कलित गहुँत बन्दागोभी, काउली, गोलभेँडा, साग, मुला, गाजर, आलुलगायत तरकारी तथा अन्नबालीमा प्रयोग गर्ने गरिएको छ । सन्तुलन मिलाएर नाइट्रोजनको मात्रा अत्यधिक हुने गहुँतको प्रयोगबाट २० देखि ४० प्रतिशतसम्म उत्पादन बढाउन सफल भएको कृषकले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ १४, २०७३