बिहिबार, अशोज ११, २०८०

कृषकले खोले आधुनिक डेरी

सुर्खेत, ४ जेठ । सुर्खेतका कृषकहरुले आफ्नै लगानीमा जिल्लामै पहिलो अत्याधुनिक प्रविधियुक्त डेरी उद्योग सञ्चालनमा ल्याएका छन् । विचौलियाले कृषकलाई उचित मूल्य पनि नदिएको तथा गुणस्तरीय दुध उपभोक्तालाई पनि नदिएको भन्दै दुध उत्पादक कृषकहरुले अत्याधुनिक काँक्रेविहार डेरी उद्योग प्राइभेट लिमिटेडको सञ्चालन गरेका हुन् । दुग्ध उत्पादक किसान संघको अगुवाईमा सुर्खेती किसानको पहिचान हुनेगरि ‘किसान दुध’ जिल्लामै पहिलो पटक बजारमा पठाइएको छ । दुग्ध उत्पादक कृषकहरुले ११ लाख नौ हजार पाँच सय रुपैयाँको लागानीमा उद्योग दर्ता तथा प्राविधिक सामग्री खरिद् गरिएको छ ।
नेपाल सरकारको कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तरगत क्षेत्रीय कार्यालय बाँकेबाट इजाजत प्राप्त गरि उद्योग सञ्चालनमा ल्याएको हो ।
सुर्खेत–दैलेख सडकखण्ड अन्तरगत इत्राम चौक नजिक रहेको उद्योगमा दुई सय ६० जना कृषकहरुले लगानी गरेका छन् । कृषकबाट आएको कच्चा दुधलाई पास्चराइज गरि विक्री गरिने डेरी उद्योगका सञ्चालक डिल्लीराम लम्सालले बताए । त्यसका लागि १० हजार लिटर क्षमताको पास्चराईज मेसिन, क्रिम सेपरेटर, डि.फ्रिज र एक हजार लिटर प्रतिघण्टाका दरले प्याकिङ्ग गर्नसक्ने प्याकेजिङ्ग मेसिन उद्योगसँग छ ।
काँक्रेविहार डेरी उद्योग प्रालिमार्फत् ‘किसान दुध’ बजारमा पुर्याउन अगुवाई गर्ने दुग्ध उत्पादक किसान संघका अध्यक्ष देवप्रसाद ढकालले कृषकले चाहे सवै काम सम्भव हुने बताए । डिलप्रसाद शर्मा

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ४, २०७३