सोमवार, अशोज ८, २०८०

युवा लक्षित कार्यक्रमले च्याउखेतीमा आकर्षित

सुर्खेत, वैशाख । वीरेन्द्रनगर नगरपालिका पदमपुरका लिलाराम ढकाल गुजरा चलाउनकै लागि धेरै भौतारिए । दैनिक घर खर्च धान्न र दुई चार पैसा बचाउनकै लागि विदेश पनि हानिए । रोजगारी खोज्दै मलेसिया पुगेका उनी चार वर्ष त्यतै बिताए । तर उनले सोचेभन्दा पृथक थियो मलेसिया । १८ घण्टा काममा जोतिएका उनी अन्तत चार वर्षे कार्यकाल सकेर नेपाल फर्किए ।
विदेशबाट स्वदेश फिरेपछि लिलारामलाई घर चलाउन समस्या भयो । तयारी विदेश जाने गरे । तर जिल्ला कृषि कार्यालय सुर्खेतले सार्वजनिक गरेको युवा स्वरोगार सम्बन्धी च्याउ खेतीको आवेदनले रोकेको उनले बताए । ‘आवेदन दिएको थियो, नाम निस्कीयो, अनि स्वदेशमै व्यवसायिक कृषक बन्ने तयारी गरे ’ उनले भने । ४२ वर्षिय ढकालले जिल्ला कृषि विकास कार्यालयले दिएको अनुदानको रकमले भाडाको सीमित जमिनमा च्याउ खेती गरेको बताउँछन् । उनले भाडा तीन कठ्ठा जमिन लिएर च्याउ खेती गरेका छन् । ढकाल च्याउ खेती गर्ने कृषकमध्ये प्रतिनीधि पात्र मात्रै हुन् । जिल्लामा ढकाल जस्तै यो वर्ष ४० जनाले ‘युवा स्वरोजगार’ अन्तरगत च्याउ खेतीमा होमिएका छन् । कम समयमै धेरै प्रतिफल पाइने भएकाले च्याउ खेती रोजेको ढकालको भनाई छ । उनले च्याउ खेतीबाट मात्रै तीन महिनामा १ लाख ६० हजार रुपैयाँ आम्दानी गरिसकेका छन् । अनुदान कृषिले दिएपछि च्याउ खेती गर्न वार्षिक १२ हजारमा ३ कठ्ठा जग्गा भाडा लिएको उनले बताए । ‘सबै खर्च कटाएर एक लाख बढी आम्दानी हुन्छ किन जाने विदेश’ उनले भने,–‘१८ घण्टा विदेशमा काम गर्नुभन्दा १२ घण्टाको श्रमले स्वदेशमै राम्रो आम्दानी हुन्छ ।’ थोरै जमिनमा धेरै च्याउ उत्पादन गर्न सकिने भएकाले युवाहरु यसतर्फ आकर्षित भएको जिल्ला कृषि कार्यालयको भनाई छ । ढकालले तीन महिनाको अवधिमा ९ क्वीन्टल च्याउ विक्रि गरेको बताए । उत्पादन अनुसार विक्रीको लागि भने समस्या भएको गुनासो उनको छ । कृषिले दिएका ४० हजार अनुदान र व्यक्तिगत ४३ हजार थप गरेर च्याउ खेती शुरु गरेको ढकालको भनाई छ । कृषि कार्यालयले युवा लक्षित व्यवसायीहरुका लागि एक जना बराबर ४० हजार नगद र च्याउ खेती सम्बन्धी प्राविधीक सहयोग गर्ने गरेको सुर्खेतका बालि संरक्षण अधिकृत प्रेमबहादुर ओली बताउँछन् ।
युवा लक्षित कार्यक्रम अन्र्तगत नै चालु आर्थिक वर्षमा ४० जना युवाहरुले अनुदान लिएर च्याउ खेती गरेका छन् । २ सय ११ वटा कृषकले दिएको आवदेन मध्ये ४० जना छनौंट गरिएको वलीले जानकारी दिए । कार्यालयका अनुसार लिलारामसहित केही कृषकले राम्रो आम्दानी गरेको पनि जनाएको छ । कम लगानीमा छोटो समयमै बढि आम्दानी हुने भएकाले युवाहरु च्याउखेतीतर्फ होमिएको बाली संरक्षण अधिकृत ओली बताउँछन् । उत्पादनको बढवासंगै स्वास्थ्यमा च्याउले फाइदा पुग्ने उनको भनाई छ । च्याउ खेती सम्बन्धी स्थलगत घुम्ती तालिममा ५० प्रतिशत मुल्य अनुदान विउ वितरण गरेको कार्यालयले जनएको छ । डिलप्रसाद शर्मा

प्रकाशित मिति: आइतवार, बैशाख २६, २०७३