डडेल्धुरा, २६ वैशाख । तरकारी खेतीतर्फ आकर्षित बनेका किसान लामो समयपछि पानी पर्दा हर्षित भएका छन् । खडेरीका कारण तरकारी सुक्न लागेपछि उनीहरू चिन्तित बनेका थिए । यहाँका धेरै जसो कृषकले तरकारी व्यवसायले परिवारको खर्च धान्दै आएका छन् । तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि जिल्लामा अधिकांश महिला तरकारी उत्पादनमा लागेका छन् ।
सरकार र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा महिलाहरू एकल र समूह बनाएर व्यावसायिक रूपमा तरकारी उत्पादनमा लागेका छन् भने उनीहरू आत्मनिर्भर समेत बन्दै गएका छन् । ‘सिखर समैजी’ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडक विष्ट सिँचाइको सुविधा नहँुदा आलु, मुला, गाजर, रामतोरिया, लौका, करेला, गोलभेँडालगायत तरकारी सुक्न थालेका बेलामा पानी परेपछि राहात मिलेको बताउँछन् । जिल्लाका समैजी, पोखरा, कैलपालमाडाँैं, बगरकोट, आलिताल, अमरगढी नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारी खेती गरिँदै आएको छ । जिल्लामा उत्पादन गरिएको तरकारी कैलाली, बैतडी, बझाङ, दार्चुला, अछामलगायत जिल्लामा निर्यात हुँदै आएको छ ।
Add Comment