सोमवार, अशोज १५, २०८०

एघार कट्ठामा चौबिस क्विन्टल गहुँ

Krishi Weekly Logoधनगढी, २३ वैशाख । जोशीपुर गाविस–३ बञ्जरिया गाउँका किसान रामचरण चौधरीको ११ कट्ठा खेतमा २४ क्विन्टल गहुँ फलेको छ । एक बिगाहा (२० कट्ठा)मा बढीमा ३०/३५ क्विन्टलसम्म गहुँ फल्न सक्ने भएकामा उनको ११ कट्ठामै यति ठूलो परिमाणमा गहुँ फलेको चौधरीका छिमेकी भगतराम चौधरीले बताए । काँडा नदी छेउको यो गाउँमा वर्षायाममा नदीले मलिलो माटो बगाएर ल्याई खेतमा थुपारिदिन्छ । “वर्षायाममा बगेर आउने पातपतिङ्गरले माटो मलिलो बनाएका कारण बढी गुहँ फलेको हो” चौधरीले भने । आवश्यक मल, सिँचाइलगायतको व्यवस्था हुन नसक्दा कैलालीमा गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा ह्रास आएका बेला कृषक रामचरणले यो सफलता पाएका हुन् ।

आदित्य जातको उन्नत बीउ प्रयोग गरी गहुँ छरेकामा खेतमा कम्पोस्ट मल र पोषण प्रयोग गरेको तथा समय समयमा सिँचाइ गरेकाले गहुँ राम्रो फलेको उनि बताउछन् । जिल्लाका जोशीपुर, लालबोझी, मुनुवा, भजनीलगायतका क्षेत्र धान र गहुँ उत्पादनका लागि निकै उर्वर भूमि मानिन्छन् । कृषि विकास कार्यालयका प्रमुख युवराज पाण्डेका अनुसार जिल्लामा गहुँको उत्पादकत्व प्रतिहेक्टर तीनदेखि साढे तीन मेट्रिक टन रहेको छ ।

प्रकाशित मिति: बिहिबार, बैशाख २३, २०७३