बिहिबार, अशोज ११, २०८०

रुपन्देहीको ७ सय ५० हेक्टर क्षेत्रफल मत्स्य पकेट क्षेत्र

बुटवल, बैशाख । जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीले जिल्लामा माछा उत्पादन बृद्वि गर्नका लागि नयाँ रणनीति योजना अनुसार माछा उत्पादनको लागि अब्बल मानिएको करिव ७ सय ५० हेक्टर क्षेत्रफललाई मत्य पकेट क्षेत्रको रुपमा विकास गर्ने भएको छ ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका मत्स्य विकास अधिकृत रमेश जैशवालका अनुसार रुपन्देहीको धकधई गाविस आसपास क्षेत्रका १५ ओटा गाविसलाई समेटेर १ सय २० हेक्टरक्षेत्रफल र लुम्बिनीतर्फ सुर्यपूरा लगायतका आसपासको १५ ओटा गाविसलाई समेटेर १ सय ८० हेक्टरको क्षेत्रफलमा लुम्बिनी पकेट क्षेत्र निर्धारण गर्ने र छपिया दयानगर छेउछाउका गाविसलाई समेटेर ४ सय ५० हेक्टरको क्षेत्रफलमा छपिया टिकुलीगढ सेमलार बुटवल पकड क्षेत्र निर्धारण गर्नेगरी काम अगाडि बढाईएको छ ।
रुपन्देहीमा हाल ८ सय ७५ ओटा पोखरीमा माछा पालन गरिंदै आएको छ । जिल्लाका २० ओटा गाविसलाई माछा पालनका लागी पकट क्षेत्र भनेर निर्धारण गरीएको कृषि कार्यालयको तथ्यांक छ । यस जिल्लामा प्रत्येक दिन १२ मेट्रिक टन र प्रतिवर्ष ४ हजार ५ सय मेट्रीक टन माछा उत्पादन हुने गरेको छ जुन बाजारकालागी अपुग रहेको छ । माछाकै विक्रि वितरणबाट रुपन्देही जिल्लामा मात्र वार्षिक १ अर्वको कारोबार हुंदै आएको छ ।
जिल्लामा मत्स्यपालन सम्बन्धी ५७ वटा कृषक समुह रहेका छन भने ७ ओटा ह्याचरी रहेका छन । त्यस्तै जिल्लामा डेढ दर्जन भन्दा बढी जिउंदो माछा विक्रि पसलहरु रहेको कृषि कार्यालय रुपन्देहीको तथ्यांक छ । त्यसैगरी जिल्लामा माछा कै लागि भनेर खोलिएका ३ ओटा दाना उद्योगहरु रहेका छन । त्यस्तै रुपन्देही जिल्ला मै पहिलोपटक दयानगरमा माछा पालनकालागि आईस प्लाण्टको निर्माण गरी सञ्चालनमा ल्याईएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका मत्स्य विकास प्रमुख रमेश जैसवाल भन्छन्–रुपन्देहीका मुख्य बालीहरु मध्ये पहिलो धान, दोस्रो माछा र तेस्रो तरकारी रहेको अवस्थामा जिल्लामा माछा उत्पादनमा बृद्वि गर्नका लागि क्षेत्र छुट्याएर काम गर्न थालिएको छ छ । कृष्ण खनाल

प्रकाशित मिति: बुधबार, बैशाख २२, २०७३