आइतवार, फाल्गुन २०, २०८०

पचास हजार पशु प्राविधिकहरको काम अवैध

काठमाडौं, २६ चैत्र । पशु स्वास्थ्यका क्षेत्रमा काम गर्ने मुलुकभरका करीव ५० हजार पशु स्वास्थ्यकर्मी तथा प्राविधिकहरुले अवैध रुपमा काम गरिरहेको खुलासा भएको छ । नेपालमा करीव ८ सय पशु चिकित्सक, २० हजार पाराभेट र ३० हजार ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरुले पशु स्वास्थ्य उपचार लगायतका कार्यमा संलग्न भएको देखिएको छ ।
राज्यले पशु चिकित्सकहरुलाई वैधानिक रुपमा काम गर्ने अधिकार दिएको भएपनि ५० हजार भन्दा बढी पशु स्वास्थ्यकर्मीहरुलाई अवैध रुपमा कामको जिम्मेवारी सरकारले नै थमाईरहेको बताइएको छ । नेपाल पारा भेटेरिनरी एण्ड लाईभष्टक एशोसिएसन (नेभ्ला)का अध्यक्ष पूर्ण बहादुर बुढाका अनुसार नेपालमा गरिने पाँच लाख कृत्रिम गर्भाधानको ९५ % भन्दा वढि पशुमा कृत्रिम गर्भाधान पाराभेटले गरिरहेका छन् । जुन काम कानून त अवैध रहेको छ । सरकारले नै अवैध काम गर्नका लागि जर्वजस्ती रुपमा पशु स्वास्थ्यकर्मीहरुलाई लगाई रहेको आरोप बुढाले लगाए ।
राज्यले नै यस्ता अवैध कार्य गर्न लगाएका कारण कथंकदाचित कुनै दुर्घटना परे पशु स्वास्थ्यकमी जेल जानु पर्ने अवस्था आउने भएका कारण आफूहरुले त्यस्तो कार्यलाई रोकी पशु स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको योग्यता, क्षमता र तालिमका आधारमा कामको दायरा तोकी कानूनी मान्यता दिनुपर्छ माग राख्दै आईरहेको समेत बताए ।
यही अवस्थामा सरकारले एक गाउँ एक प्राविधिकका नाममा राख्न लागेको १ हजार ५ सय पशु स्वास्थ्यकर्मी (प्राविधिक) हरुलाई कानून नबनाई प्रयोग गरेमा सो कार्य समेत अवैध हुने पशु क्षेत्रका काम गर्ने विज्ञहरुको भनाई रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत्र २६, २०७२