बिहिबार, फाल्गुन १७, २०८०

रुपन्देहीमा माछाबाट बार्षिक १ अर्ब आम्दानी

बुटवल, २५ चैत । माछा पालनमा नमुना जिल्लाको रुपमा रहेको रुपन्देही जिल्लाले बार्षिक १ अरव रुपैयाँ बराबरको आम्दानी माछाबाट मात्र गर्दै आएको पाइएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार माछा उत्पादनमा नमुना जिल्लाको रुपमा पहिचान बनाउदै गरेको रुपन्देहीले जिल्लाको माग पुरा गरी अन्य जिल्लामा समेत माछा निर्यात गर्दै आएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार रुपन्देही जिल्लामा कुल जलाशय क्षेत्रफल ९ सय ३५ हेक्टर रहेकोमा पोखरी जलाशय क्षेत्रफल ८ सय ९ हेक्टर मा किसानहरुले माछा पालन गर्दै आएका छन् । fish
प्राकृतिक घोल÷ताल जलाशय क्षेत्रफल १ सय २६ हेक्टर रहेको छ भने जिल्लामा २ हजार १ सय ४ ले किसानले व्यवसायिक रुपमा माछा पाल्दै आएका छन् । रुपन्देहीमा कुल पोखरी संख्या ३ हजार ७ सय ८० वटा रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । यद्यपी पछिल्लो समयमा भने केही संख्या बढेको छ ।
बार्षिक रुपमा ४ हजार २ सय ५ मेट्रिक टन माछा उत्पादन हुदै आएको जिल्लाको उत्पादकत्व ४.८७ मेट्रिक टन प्रति हेक्टर रहेको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख सापकोटा भन्छन्– रुपन्देही जिल्ला खाने माछा र मत्स्य बीज उत्पादनमा आत्मनिर्भर बनेको छ ।’ जिल्लामा प्रति व्यक्ति प्रति बर्ष माछा खपत ४.७५ किलोग्राम हुदै आएको जनाइएको छ ।
रुपन्देही जिल्लामा मत्स्यपालनको संस्थागत र नीजि गरी दुई प्रकृतिले माछाको व्यवसायिकरण हुदै गएको छ । जसको लागि जिल्लामा एक वटा मत्स्य व्यवसायी संघ समेत गठन गरिएको छ भने एउटा मत्स्य सहकारी संस्था समेत दर्ता गरी आफ्नो काम किसानहरुले अगाडि बढाइरहेका छन् ।
यसको अलवा किसानहरुले ५७ वटा मत्स्य पालक कृषक समुह समेत गठन गरि व्यवसायिक रुपमा माछा पाल्दै आएका छन् ।
माछाको भुरा उत्पादनको लागि समेत रुपन्देहीमा ७ वटा स्रोत केन्द्र (मत्स्य ह्याचरी)स्थापना भएका छन् । जसमा एउटा सरकारी क्षेत्रबाट सञ्चालित छ भने ६ वटा निजी स्तरबाट सञ्चालित छन् । जिल्लामा मत्स्य नर्सरीहरु १६ वटा रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
पछिल्लो समयमा ताजा माछा स्वादिलो हुने भएकोले जिल्लामा जिउदो माछा पसल समेत सञ्चालन हुने क्रम बढ्दै गएको छ । उपभोक्ताहरुको रोजाईमा ताजा जिउदो माछा पर्ने भएको कारणले पनि व्यवसायीहरुले यसतर्फ आफ्नो लगानी बढाउदै गएका छन् । जिल्ला कृषि विकास कार्यालयमा आधिकारिक रुपमा दर्ता भएर रुपन्देहीमा १५ वटा जिउदो माछा पसल सञ्चालनमा आएका छन् ।
जिल्लामा दानाको लागि समेत अन्य जिल्लाबाट आयात गर्नुपर्ने बाध्याता छैन । रुपन्देहीमा दुई वटा मत्स्य दाना उद्योग सञ्चालनमा आएका छन् । जिल्लामा करिव १ सय वटा मत्स्य फर्महरु समेत सञ्चालनमा रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा पाईन्छ । मत्स्य प्रशोधन केन्द्र आईस प्लान्ट रुपन्देहीको दयानगर गाविस छपिया समेत सञ्चालनमा आएको छ । जिल्ला कृषि विकास कार्यालयको संमन्वयमा मत्स्य बजार सेड समेत दयानगर, छपिया मा निर्माण गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजप्रसाद सापकोटा भन्छन्– रुपन्देही जिल्लामा मत्स्यपालन क्षेत्रका धेरै संभावना भएको क्षेत्र हो , एक बाली मात्र हुने (धान बाली मात्र) मत्स्य पोखरी निर्माण गरि तुलनात्मक रुपमा बढी आम्दानी लिन सकिने प्रचुर संभावना रहेको छ ।’उनका अनुसार जिल्लामा थप क्षेत्र बिस्तारको उपयुक्त १ हजार हेक्टर क्षेत्रफल अझै पनि विस्तार गर्न सकिन्छ ।
उपभोक्ताको जिउदो माछा तर्फको आर्कषण तथा सचेतनाले जिल्लामा जिउदो माछा बजार विस्तारको अत्यन्त राम्रो संभावना बढ्दै गएको पाईन्छ । जिल्लामा माछा प्रशोधन उद्योगको स्थापना गर्न र कृषि पर्यटन उद्योग स्थापन गर्न उच्च संभावना रहेको छ भने पोखरीको डीलमा खेर गैरहेको जग्गा सदुपयोग गर्न तरकारी तथा फलफुल खेती र माछाको लागि आवश्यक घाँस खेती गर्न समेत सकिन्छ । – कृष्ण खनाल

प्रकाशित मिति: बिहिबार, चैत्र २५, २०७२