आइतवार, फाल्गुन २०, २०८०

केरा किसान बिचल्लीमा

चितवन, २१ चैत्र । गत हप्ता आएको हावाहुरीले चितवनको केरा खेतीमा एक करोड रुपैयाँभन्दा बढीको क्षति पु¥याएको छ । व्यवासयिक रुपमा केरा खेती गरेका किसानमध्ये बिमा गरेकाले मात्र क्षतिपूर्ति पाउने भएका छन् । बिमा नगरेका किसानहरु विचल्लीमा परेका छन् । जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारीअनुसार व्यवसायिक रुपमा केरा खेती गर्ने जिल्लाका ६ सय किसानहरुमध्ये १ सय ५३ जनाले मात्र केराको बिमा गराएका छन् । चितवन केरा उत्पादक संघको तथ्याङ्क अनुसार यो संख्या २७ ले बढी छ । बिमा गराएका किसानहरुको मात्रै हावाहुरीबाट झण्डै ९हजार बोट केरा नष्ट भएको जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत धनबहादुर थापाले बताएका छन् । बिमा नगराएका किसानको यो संख्या भन्दा बढी क्षति भएको अनुमान गरिएको छ । कृषि विकास कार्यालयले सुरुमा बिमा गरेका केराको मात्रै अनुगमन गरी क्षति विवरण संकलन गर्ने गरेको अधिकृत थापाको भनाइ छ ।
व्यवसायिक रुपमा केरा खेती गर्दै आएका किसानहरुमध्ये सबैभन्दा बढी चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तको क्षति भएको बताइएको छ । उनको पूर्वी चितवनको चैनपुर र रत्ननगरको जयमंगलामा लगाइएको केरामध्ये ३ हजार बोट नष्ट भएको कृषि विकास कार्यालयले जनाएको छ ।
उनको मात्रै १७ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । त्यसैगरी निवर्तमान अध्यक्ष यज्ञप्रसाद सुवेदीको २ हजार बोट, पदमपुरका शंकर सुवेदीको करिब १ हजार बोट नष्ट भएको बताइएको छ ।
जिल्ला कृषि विकास कार्यालय, केरा उत्पादक संघ र बिमा कम्पनीले संयुक्त रुपमा फिल्ड अनुगमन गरी क्षतिको विवरण संकलन गर्दै रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख एवम् वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेले बताएका छन् । क्षतिको विवरण संकलन गरेपछि कार्यालयको सिफारिसको आधारमा बिमा कम्पनीले क्षतिपूर्ति दिने गरेको प्रमुख घिमिरेको भनाइ छ ।
एउटा केराको बोट उत्पादन गर्दा २ सय २३ रुपैयाँ लागत पर्ने र त्यसको ९० प्रतिशत क्षतिपूर्ति बिमा कम्पनीले दिने गरेको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले बताएका छन् । उनका अनुसार बिमा गराउँदा प्रति बिगाहा वार्षिक रुपमा ४ हजार रुपैयाँ तिर्नुपर्छ । सो जग्गामा केरा खेती
गर्दा ३ लाख १२ हजार १ सय २० रुपैयाँ प्रति वर्ष खर्च हुने गरेको अध्यक्ष पन्तको भनाइ छ । उक्त रकमको ५ प्रतिशत प्रिमियम बिमा कम्पनीलाई बुझाउनु पर्ने छ । उक्त प्रिमियमको २५ प्रतिशत कृषक र ७५ प्रतिशत सरकारको अनुदानबाट पूर्ति हुने गरेको अध्यक्ष पन्तले जानकारी दिए । पछिल्लो समय बिमा प्रति केरा किसान आकर्षिक भएका छन् । कृषि विकास कार्यालयको सिफारिसको आधारमा चाँडो क्षतिपूर्ति दिन किसानले बिमा कम्पनीसँग माग गरेका छन् । नेपाल बिमा कम्पनीका प्रबन्धक बालकृष्ण
ओलीले सिफारिस आएको डेढदेखि २ महिनाभित्र क्षति भएको रकम दिन सकिने बताएका छन् ।चितवनमा २ हजार २ सय बिगाहाभन्दा बढी जग्गामा व्यवसायिक रुपमा केरा खेती गरिन्छ । त्यसबाट वार्षिक ३७ देखि ४० हजार मेट्रिक टन केरा उत्पादन हुने गरेको र ७५ देखि ८० करोड रुपैयाँ बराबरको बिक्री वितरण गर्ने गरेको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तको भनाइ छ ।- बिल बहादुर अधिकारी

प्रकाशित मिति: आइतवार, चैत्र २१, २०७२