आइतवार, फाल्गुन २०, २०८०

किसान यो देशका महान व्यक्तिहरु हुन्

yogendra
योगेन्द्रकुमार कार्की
प्रवक्ता एवं सहसचिव
कृषि विकास मन्त्रालय

० आगामी आर्थिक बर्षका लािग कस्ता खालका कार्यक्रमहरु बन्दैछन् ?
हामीले आगामी बर्ष २०७३÷७४ को कार्यक्रम बनाउंदैछौं । यो एउटा ऐतिहासिक क्षेत्रको कार्यक्रम निर्माण गरिरहेका छौं । नेपाल अहिले संघीयतामा लम्किएको छ । संघीय नेपालको संविधान २०७२ पनि आईसकेको छ जुन कार्यान्वयनको चरणमा छ । संघियतालाई नै दृष्टिगत गरी केन्द्रिय सरकारले कसरी काम गर्ने, स्थानीय सरकारले कसरी गर्ने भन्ने विषयमा पनि हामीले बजेट तयार गर्नु पर्ने भएकाले कार्यक्रम बनाउनका लागि हामीलाई एउटा चुनौति पनि हो र अवसर पनि हो । तसर्थ सोही अनुरुप परिवर्तन देखिने किसिमले कृषिका कार्यक्रम निर्माण गरिरहेका छौं ।
० कुन आधारमा परिवर्तन हुने किसिमले कार्यक्रम निर्माण भयो भन्ने ?
मन्त्रालयमा हामीले कार्यक्रम निर्माण गर्नु अघि क्षेत्र क्षेत्र र जिल्लामा गएर धेरै पटक छलफल गरेका छौं । त्यसपछि विभागिय, मन्त्रालय स्तरमा गएर सम्वन्धित सरोकारवाला कृषक सञ्जालसंग, निजी क्षेत्रसंग, कृषि विकास गर्नलाई अपरिहार्य तत्व सिंचाई, उर्जा, कृषि सडकसँग सम्वन्धित कार्यालयहरुसंग समन्वय गरेर हामीले खाका तयार गरिरहेका छौं । नेपालमा हिमाल, पहाड र तराई तीन क्षेत्रलाई दृष्टिगत गरी उत्पादन बृद्धि गर्ने जस्तै हिमालमा हुने फलफूल बालीहरुलाई, पहाडका महत्वपूर्ण बाली बस्तुहरुलाई र तराईमा हुने अन्नको भण्डारलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा बढी जोड दिएर हाम्रा कार्यक्रमहरु तयार गरेका छौं । हिमालमा स्याउ, ओखर लगायतका विभिन्न बस्तुहरुका बीउहरु कसरी उत्पादन गर्ने भन्ने विषयमा लक्षित गर्दछौं । पहाडी क्षेत्रका महत्वपूर्ण बस्तुहरु कफी, चिया, अलैची बाली, बेसार, अदूवा फलफूलमा सुन्तला जातको फलफूलहरुलाई कसरी विकास गर्ने, तराईमा धान, गहुं, मकैमा कसरी आत्मनिर्भर बनाउन सकिन्छ र अवको दुई बर्षमा नेपाल कसरी खाद्यान्नमा आत्मनिर्भर बन्न सक्छ भन्ने विषयमा अध्ययन गरेर कार्यक्रम राखेका छौं ।
० गतबर्ष पनि यहांहरुले स्थानीय तहबाटै योजना तर्जुमा गर्नु भएको थियो तर, योजना कार्यान्वयमा आएन भन्ने गुनासो छ नि ?
स्वभाविक हो । हामीले यसलाई सकारात्मक रुपमा लिन्छौं परिवर्तन गर्नका थुप्रै गुनासाहरु आउनु पर्दछ । हामीले गरेका कार्यक्रमलाई कसैले सकारात्मक आलोचना कसैले नकारात्मक पनि आलोचना गर्नुपर्दछ । तव मात्र सुधार हुन्छ भन्ने बुझ्छौं । परिवर्तन गर्नको लागि यो अत्यावश्यक छ । गतबर्ष हामीले ल्याएका कार्यक्रमहरुले एउटा मूर्त रुप लिएको छ । जस्तै माछामा मिसन कार्यक्रम ल्याएका छौं । जसमा एक हजार हेक्टरमा माछा पोखरीहरु निर्माण गर्ने भनेका थियौं त्यो अन्तिम चरणमा पुगेको छ । त्यसैगरी धानमा १५ जिल्लामा मिसन कार्यक्रम गर्ने भनेको थियौं त्यो कार्यक्रम अगाडि बढिरहेको छ । चैते धान र बर्खे धान । चैते धानमा ५ हजार हेक्टर बढाउने भनेका थियौ सो अनुसार हाम्रो कार्यक्रम भईरहेको छ । उत्पादन बृद्धि गर्ने भनेको थियौ यो बर्ष त्यसका लागि काम भईरहेको छ । त्यसैगरी दलहनको मिसन कार्यक्रम चलिरहेको छ । महोत्तरी र सिराहालाई आंप क्षेत्रको विकास गर्ने भनेका थियौ त्यो कार्यक्रम पनि चलिरहेको छ । फ्लोरिकल्चर विकास गर्न सके निर्यात गर्न सक्छौं भनेका थियौं त्यसमा पनि युवाहरु ठूलो मात्रामा क्रियाशील भएर लागिरहनु भएको छ । त्यसकारण हामीले गतबर्ष बनाएका योजनाहरु अहिले कार्यान्वयनको अवस्थामा छ ।
० चैते धान मिसन कार्यक्रममा ल्याउनु भयो तर सिंचाई अभावले चैते धानको रोपाईमा समस्या परेको गुनासो छ नि किसानहरुको ?
चैते धान र बर्षेधान हुने २० वटा जिल्लाहरु मात्र हामीले लक्षित गरेर गईरहेका छौं । सवै कुराहरु एकै पटक गर्न सकिन्छ भन्ने कुरा पनि छैन । तर चैते धान बांझो जग्गा राख्नु हुन्न भन्ने विषयमा कृषि मन्त्री चिन्तित हुनु हुन्छ । त्यसैका कारण मिसन बनेको हो । धानको उत्पादनमा दुई बर्षभित्र नेपाललाई आत्मनिर्भर बनाउनु पर्दछ भन्ने विषयमा कृषि सचिव आफै लागि रहनु भएको छ । यसका लागि माथिदेखि नै जिम्मेवारी ढंगले काम भईरहेको छ । कृषि यस्तो साधन हो जुन नभई नहुने कुरा हो । सवै क्षेत्रबाट यसलाई विकास गर्नु पर्दछ भन्ने सोचले अगाडि बढिरहेको छौं । कहि कतै कमी कमजोरी भएमा आगामी बर्षहरुमा त्यस्ता कार्यक्रमलाई सुधार गरेर लैजान सकिन्छ ।
० कृषि उत्पादन बृभि गर्ने महत्वपूर्ण पाटो भने सिंचाई हो तर सिंचाई मन्त्रालयसंग समन्वय अभाव भएकै कारण सिचाई सुविधा नभएको हो भन्छन् नि हो ?
पहिले के भयो भन्ने कुरा होइन । अहिले कस्तो समन्वय छ भन्ने कुरालाई हेर्नुपर्दछ । पछिल्लो समयमा हामीवीच धेरै नै छलफल र बहस भईरहेको छ । अवका दिनमा कृषि र सिंचाई अलग नहुने अवस्थामा छ । जुन ठाउंमा सिंचाईको आवश्यकता छ । त्यस क्षेत्रमा सिंचाई पु¥याउन सिंचाई मन्त्रालय सकारात्मक रुपमा लागिरहेको छ । हामीलाई सिंचाई मन्त्रालयले सहयोग गर्न खोजको त छ । तर, त्यसलाई हामीले लिन सकेनौं भने त्यो हाम्रो कमजोरी हो । अहिलेसम्म ३६ प्रतिशत सिंचाई सुविधा पुगेको छ । सवै ठाउंमा सिंचाई सुविधा पुग्न सकेको छैन । जहां सिंचाई पुगेको छैन त्यहांबाट गुनासो आउनु स्वभाविक हो । त्यसलाई हामीले सकारात्मक रुपमा लिनु पर्दछ । किसानहरु यो देशका महान व्यक्तिहरु हुन् । जसले उत्पादन गरेर देशको ३१ प्रतिशत कूल ग्रार्हस्थ उत्पादनमा योगदान गरिरहनु भएको छ भने । बार्षिक आठ खर्वको कृषि उत्पादन भईरहेको छ ।
० सिंचाईसंगै कृषिमा काम गर्ने जनशक्तिको अभाव छ । यो अवस्थामा कसरी कृषि उत्पादन बृद्धि गर्न सकिन्छ भन्ने ?
जनशक्ति अभाव भन्ने कुरा होइन । हामीसंग प्रशस्त मात्रामा जनशक्ति छ । ती जनशक्तिहरुलाई हामीले प्रयोग गर्न जानेनौ । जनशक्तिमा मात्र ध्यान दिएर पनि हुंदैन हामीले हाम्रो कृषि उत्पादनको लागत मूल्य कसरी घटाउने भन्ने तर्फ पनि सोच्नु आवश्यक छ । त्यसका लागि कृषि यान्त्रिकरणलाई पनि जोड दिएका छौ । जसका कारणले उत्पादन लागत मूल्य घटाउन सकिन्छ । कृषि उत्पादन बृद्धि गर्नका लागि यान्त्रिकरणमा जोड दिंदै युवा लक्षित कार्यक्रमहरु हामीले विगतदेखि नै ल्याएको छौं । र उत्पादन बृद्धि पनि भईरहेको हामीले देखिरहेका छौं । हामी धान, मकै लगायतका बस्तुहरु उत्पादन बृद्धि कसरी गर्न सकिन्छ निर्यात गर्न सकिन्छ भन्ने किसिमले कार्यक्रम तयार गरेका छौं । त्यसकारण कृषि उत्पादन बृद्धि हुंदैन भन्ने कुरामा कुनै शंका नै छैन । – वैकुण्ठ भण्डारी 

प्रकाशित मिति: आइतवार, चैत्र २१, २०७२