बिहिबार, फाल्गुन १०, २०८०

सरकारले मिसन बनाउन लागेको चैते धान लोप हुँदै

पाल्पा, चैत । सरकार धानबालीलाई प्रेरित गर्दै धान उत्पादन बृद्धि र बाँझो खेतलाई उत्पादनमा लगाउने चैते धान उत्पादनमा गर्ने तरखर गरिरहँदा पाल्पा जिल्लाको सवैभन्दा दोस्रो मुख्य बाली मानिने धान बालीअन्तर्गत पर्ने चैतेधान लोप हँुदै गएको छ । जिल्लामा पर्याप्त सिँचाइ सुविधा नहुनु, कृषि क्षेत्रमा काम गर्ने कामदारका अभाव हुनु लगायतका कारणले चैतेधान जिल्लाबाट हराउँदै गएको हो ।
जिल्लाको मुख्य अन्न भण्डारका रुपमा लिइने माडी फाँटमा ९७ प्रतिशत किसानले अहिले चैतेधान खेती गर्न छाडेका छन् । सिँचाइको असुविधाले माडीफाँटमा चैतेधान खेती गर्न छाडेको किसानहरु बताउँछन् ।
सिँचाइको सुविधा भएको पूर्वखोला फाँटमा विगतका तुलनामा ५० प्रतिशत किसानले मात्र चैतधान खेतीलाई निरन्तरता दिएको अगुवा किसान सीता आचार्य बताउंछिन् । असारमा तयार हुने धान भए पनि एउटा स्याहार्ने बेला अर्को छर्ने समय भएका कारण किसानले क्रमिक रुपमा लगाउन छाड्दै गएको उनको भनाइ छ ।
मदनपोखराका किसान वुद्धराज बस्याल भन्छन् “पहिला १० रोपनी क्षेत्रफलमा दुई बाली धान हुन्थ्यो, खेतमा सिँचाइ गर्न समस्या भएपछि चैतेधान लगाउनै छाडियो ।” सिँचाइको समस्यासंगै रोप्ने मानिस पाइन छाडेपछि धेरैजसो किसानले चैतेधान खेती गर्न छोडेका उनको भनाइ छ ।
असारमा लगाएको धानको तुलनामा चैतमा लगाएको धानको चामल बढी पर्ने गरेको कसेनीका किसान तिलकराम घिमिरे बताउछन् । चैतेधान चिउराको प्रयोजनका लागि राम्रो मानिन्छ । किसान जुद्धबहादुर कुमाल भन्छन्, “उत्पादन राम्रो हुने भए पनि पछिल्लो समय गाउँगाउँका युवा खाडी मुलुक पुगेका छन्, खेती गर्नभन्दा बजारमा किनेर खाने प्रवृत्ति बढेकाले चैतेधान हराउँदै गएको हो ।”
पूर्वखोलाका सन्तोष खनाल बर्सेनि चैतेधान लगाएर परम्परा धान्दै आईरहेका छन् । उनले यस वर्ष पनि सात रोपनी क्षेत्रफलमा धान लगाउंदै छन् । उनी भन्छन्, “गाउँमा धेरै किसानले चैतेधान लगाउन छाडे, आफूले परम्परा धान्नका लागि लगाउँदै आएको छु ।”
बर्खे धानभन्दा बढी मिहेनत गर्नुपर्ने अर्कोतर्फ यसको ब्याड तयार गर्न सजिलो नहुने, बर्खे धानको ब्याडको तुलनामा चैते धानको ब्याड उतार्न अत्यन्त कठिन, मौसम, तापक्रम राम्रो नभए बीउ नउम्रने जस्ता समस्याले धेरैले चैतेधानको खेती गर्न छाडेको किसान कमल खनालको भनाइ छ ।
रामपुर फाँटमा सिँचाइको सुविधा भए पनि धान लगाउने जमिन दिनानुदिन घट्दै गएको छ । यस क्षेत्रका दुईचारजना कृषकले मात्र चैतेधान खेती गर्छन् । एक हजार रोपनीभन्दा बढी क्षेत्रफलमा चैतेधान लगाइँदै आएकामा हाल ५० रोपनीमा पनि मुस्किलले धान लगाइएको किसान कृष्णकुमार अर्याल बताउछन् । –सुशीला रेग्मी

प्रकाशित मिति: मङ्लबार, चैत्र ९, २०७२